रूसले बनाएको कोरोनाभाइरस विरूद्धको स्पुतनिक-५ भ्याक्सिनको २ करोड ५० लाख डोज नेपाल ल्याउने सम्झौता भएको छ।
द रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडिआइएफ) ले विज्ञप्ति जारी गर्दै ट्रिनिटी फर्मास्युटिकल्ससँग उक्त सम्झौता भएको जनाएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि यो समाचार प्रकाशन गरेको छ।
‘यो सम्झौताले नेपालका ९० प्रतिशत मानिसलाई स्पुतनिक-५ को पहुँच सुनिश्चित गर्नेछ र त्यहाँका क्लिनिकहरूलाई सुरक्षित र प्रभावकारी कोरोनाविरूद्धको खोप उपलब्ध गराउनेछ,’ आरडिआइएफको विज्ञप्तिमा भनिएको छ।
एसिया, मध्यपूर्व, ल्याटिन अमेरिका, युरोपका ५० बढी देशहरूले भ्याक्सिन किन्न निवेदन दिएका थिए।
अहिलेसम्म मेक्सिकोमा ३ करोड २० लाख, ब्राजिलमा ५ करोड, भारतमा १० करोड र उजवेकस्तानमा ३ करोड ५० लाख डोज दिने सम्झौता भइसकेको आरडिआइएफले दाबी गरेको छ।
ट्रिनिटीका निर्देशक किशोर अधिकारीले सम्झौताबाट आफू उत्साहित भएको बताएका छन्।
‘हामी स्पुतनिक-५ को अन्तिम परीक्षणको नतिजा कुरिरहेका छौं। नेपाल सरकारले अनुमति दिनासाथ हामी भ्याक्सिन नेपाली बजारमा पठाउने छौं,’ अधिकारीको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा लेखिएको छ।
नेपालमा भ्याक्सिन ल्याउने सम्झौता गरेको ट्रिनिटी फर्मास्युटिकल्स भारतीय कम्पनी हो।
सन् १९४१ मा स्थापना भएको र केरलाको त्रिसुरमा मुख्यालय रहेको यो कम्पनीले नेपाली बजारमा पनि औषधि विक्री-वितरण गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।
नेपालका औषधि व्यवसायीहरूले भने कम्पनी र अधिकारीबारे आफूहरूले थाहा नपाएको बताएका छन्।
नेपाल औषधि व्यवसायी महासंघमा आवद्ध एक औषधि व्यापारीले कम्पनीबारे आफूलाई थाहा नभएको बताए।
भारतमा रहेको कम्पनीले नेपालमा पनि कोरोनाको भ्याक्सिनको बजार हुन सक्ने भएकाले अहिले नै सम्झौता गरेको हुन सक्ने अनुमान गरिएको छ।
स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म औषधि ल्याउन कसैले प्रस्ताव नै नगरेको बताएको छ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले अहिलेसम्म कुनै खोप नेपाल ल्याउन अनुमति नदिइएको बताए।
‘कुनै पनि प्रमाणित खोप नेपाल ल्याउन मन्त्रालयबाट अनुमति लिनुपर्छ । त्यस्तो अनुमति दिने/नदिने अध्ययन गर्न हामीले समिति बनाएका छौं,’ उनले भने,‘अहिलेसम्म कसैले खोप ल्याउन अनुमति माग्नु भएको छैन।’
नेपालमा कुनै खोपको परीक्षणका लागि भने नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट अनुमति लिन सकिने उनले बताए।
१० लाख बढी मानिसको मृत्यु भइसकेको कोरोनाभाइरसको खोप बनाउन विभिन्न देशहरूबीच प्रतिस्पर्धा छ। तीमध्ये चीन, अमेरिका र अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेका भ्याक्सिनहरू अहिले तेस्रो चरणको परीक्षणका क्रममा छन्।
रूसले भने तेस्रो चरण परीक्षण नै नगरी आफ्नो खोपलाई गत साउनमा अनुमति दिएको थियो।
रूसी राष्ट्रपति भ्लादमिर पुटिनले कोरोना विरूद्धको खोप बनाउने रूस पहिलो मुलुक भएको दाबी गरेका थिए।
रूसले आफ्नो खोप प्रभावकारी भएको दाबी गरे पनि धेरैले त्यसको विश्वासनीयतामाथि प्रश्न गरेका छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७