काठमाडौं – मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दैनिकजसो भेटवार्ता भएपनि ठोस नतिजा आउन सकेको छैन ।
लगातारका छलफलमा दुई नेताबीच ठोस सहमति बन्न नसक्दा परिणाम आउन नसकेको र मन्त्रिपरिषद् पुनर्गठनमा पनि ढिलाइ भइरहेको नेताहरुले बताएका छन् ।
अर्कोतिर मन्त्रिपरिषद् पुनर्गठनमा भएको ढिलाइ र नेताहरुको औपचारिक धारणा सार्वजनिक नहुँदा विभिन्न आशंका र अड्कलबाजीहरु भइरहेका छन् । जसले परिस्थिति प्रतिकुल हुने त होइन भन्ने चिन्ता नेकपा नेता कार्यकर्ताहरुमा बढ्न थालेको छ ।
‘गत बिहीबारयता दैनिकजसो छलफलमा जुटेका दुई नेताबीच मंगलबार पनि झण्डै तीन घण्टा छलफल भयो । तर कुनै सहमति भएन । यसले चिन्ता थपिनु स्वभाविक हो’, ओली निकट एक स्थायी समिति सदस्यले भने, ‘मंगलबार पनि सवा १२ बजेदेखि झण्डै ३ बजेसम्म दुई अध्यक्षबीच भेटवार्ता भयो तर कुनै सहमति भएजस्तो लागेन ।’
किन भएन ओली प्रचण्ड सहमति ?
नेकपाका अर्का स्थायी समिति सदस्यका अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने मापदण्डका विषयमा नै दुई अध्यक्षबीच छलफल जारी छ । स्थायी कमिटी बैठकको म्यान्डेट र सचिवालय बैठकको सुझावका आधारमा मापदण्ड बनाउने विषयमा दुई नेताबीच छलफल भइरहेपनि स्थायी समितिको म्याण्डेटलाई ओलीले बेवास्ता गर्न खोज्दा समस्या देखिएको छ ।
स्रोतका अनुसार ओलीसँगको भेटवार्तामा अध्यक्ष प्रचण्डले स्थायी समितिको म्याण्डेटविपरित गएर मन्त्रिपरिषद् पुनर्गठन गर्न नहुने भन्दै आफ्नो अडान राखेका छन् । सोही अनुसार प्रचण्डले ओलीलाई मनाउने प्रयास पनि गरिरहेका छन् । तर ओलीले स्थायी समितिको म्याण्डेटलाई मान्न तयार नहुँदा समस्या भएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७