काठमाडौं – नेपाल ट्रेकिङ एजेन्सिस् एशोसिएशन अफ नेपाल (टान) ले विदेशी पर्यटक आगमनका लागि नेपाल सरकारले व्यवस्था गरेको मापदण्डप्रति असन्तुष्टि जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रायले गत असोज ९ गते बनाएको पदयात्रा तथा पर्वतारोहण सर्त सम्बन्धी मापदण्ड २०७७ ले व्यवस्था गरेको पर्यटक क्वारेन्टिन र अनअराइभल भिसाको मापदण्ड प्रति टानले असन्तुष्टि जनाएको हो ।
मन्त्रालयले जारी गरेको मापदण्ड अनुसार पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल आउने पर्यटकले अनिवार्य रुपमा ७ दिन क्वारेन्टिनमा बस्नु पर्ने छ भने अनअराइभल भिसाका लागि ट्राभल वा ट्रेकिङ एजेन्सीको सहयोगमा पर्यटन विभाग, बोर्ड र अध्यागमन विभागबाट स्वीकृति लिनुपर्ने प्रावधान राखिएको छ ।
७ दिन लामो क्वारेन्टिन र झन्झटिलो भिसा प्रक्रिया पर्यटकका लागि अव्यवहारिक भएको भन्दै उक्त मापदण्ड तत्काल संशोधन गर्न टानले सरकारसँग माग गरेको छ ।
‘कि त पर्यटक आगमन बन्द नै गर्नु पर्यो, कि त वातावरण सहज गर्नु पर्यो । अनावश्यक र झन्झटिलो व्यवस्था गरेर किन पर्यटकलाई अल्झाउने ?,’ टानका अध्यक्ष खुम सुवेदीले भने, ‘बरु नेपाल ‘नो मोर टुरिस्टि’ भनौं, जनवरी फेब्रअरीसम्म रोकौं । किन समस्या लिने ? नत्र, पर्यटक क्वारेन्टिन र अनअराइभल भिजामा लगाइएको प्रावधान तत्काल संशोधन गरियोस् ।’
कोभिड–१९ कै बीच खुल्ला गरिएको पदयात्रा तथा पर्वतारोहणको अनअराइभल भिसाका लागि अन्य स्वास्थ्य सुरक्षा तथा प्रावधानहरु ठीक भएपनि क्वारेन्टिन र भिसा प्रक्रिया भने उचित नभएको सुवेदीको भनाइ छ ।
७ दिन लामो क्वारेन्टिनमा र झन्झटिलो भिसा प्रक्रियाका कारण कोही पनि पर्यटक नेपाल नआउने दावी गर्दै अध्यक्ष सुवेदीले उक्त मापदण्डलाई संशोधन गरेर क्वारेन्टिनको समय अधिकतम तीन दिन बनाउनु पर्ने र अनअराइभल भिजा एयरर्पोट अध्यागमनमा नै उपलब्ध गराउने व्यवस्था हुनुपर्ने बताए ।
टानले आजै मन्त्रालयलाई मापदण्ड संशोधनका लागि आग्रह गर्ने उनले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७