नयाँदिल्ली – पछिल्लो समय चिसिएको नेपाल–भारत सम्बन्ध सुधारका लागि भारतले महत्वपूर्ण प्रयास गरेको छ । भारतीय सेना प्रमुख नेपाल भ्रमण गरी फर्किएको एक सातापछि नै विदेश सचिव हर्ष वर्धन श्रींग्ला नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको छ ।
उनी यही नोभेम्बरको अन्त्यमा काठमाडौँ आइपुग्ने बताइएको छ । विशेष गरी नेपालसँग पछिल्लो समय चिसिएको सम्बन्ध सुधारका लागि उनको भ्रमण हुन लागेको बुझिएको छ । नेपालसँगको सम्बन्ध सामान्य बनाउन भारतले ठूलो कदम चालेको भन्दै हिन्दुस्तान टाइम्सले एक समाचार प्रकाशित गरेको छ । भारतीय सेना प्रमुख एमएम नारावणेले नेपाली सेनाबाट मानार्थ महारथीको दज्र्यानी चिन्ह प्राप्त गरेर स्वदेश फर्किएको केही दिनमै भारत सरकारले विदेश सचिव हर्ष वर्धनलाई नेपाल पठाउन लागेको हो ।
नारावणेले नेपालस्थित प्रधानमन्त्री केपी ओलीसँग समेत भेट गरेका थिए । त्यस क्रममा दुई देशबीच संवादबाट समस्या समाधान गर्ने कुरा भएको बताइएको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्रलाई समेट्दै नेपाल सरकारले आफ्नो देशको नक्सा जारी गरेसँगै भारतका विभिन्न उच्च ओहदाका अधिकारीहरुले नेपालबारे टिप्पणी गरेका थिए ।
भारतीय सेनाप्रमुख नारावणेसहित भाजपाका उच्चस्तरीय नेताले नै नेपालबारे टिप्पणी गरेका थिए । तिक्तताका बावजुद नेपाल–भारत सम्बन्ध सुधार्ने पहल भएको विज्ञहरु बताउँछन् । हिन्दुस्तान टाइम्सका अनुसार भारतीय विदेश सचिव श्रींग्ला नोभेम्बर २६ देखि २७ का लागि नेपाल आउनेछन् । नेपाल भ्रमणको अवसरमा श्रींग्लाले नेपालस्थित प्रधानमन्त्री केपी ओलीसहित राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि भेट गर्नेछन् ।
श्रींग्लाको यस भ्रमणमा संयुक्त प्राविधिक स्तरीय सीमा समितिको बैठकको मिति समेत तय गरिने बताइएको छ । भारतीय कुटनीतिज्ञहरुको हवाला दिँदै हिन्दुस्तान टाइम्समा जनाइएको छ कि, उक्त भ्रमणमा एक भन्दा धेरै एजेन्डामा छलफल हुनेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३