काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने भएको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण कायम रहेसम्म स्नातकोत्तर तहमा समय घटाउने निर्णय विश्वविद्यालयले गरेको हो । स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने झण्डै चार दशक लामो अभ्यासलाई परिवर्तन गर्दै विश्वविद्यालयले परीक्षालाई अब दुई घण्टामा सीमित पार्ने निर्णय गरेको हो ।
व्यवस्थापन सङ्कायका डीन प्रा.डा. डिल्लीराज शर्माले विश्वविद्यालयको कार्यकारी परिषद्ले कोरोना सङ्क्रमण अवधिमा परीक्षाको प्रावधान परिवर्तन गर्न सक्ने अधिकार दिएलगत्तै कार्यान्वयन सुरु गरिएको जानकारी दिए । प्राज्ञिक परिषद्बाट पारित गरी कार्यान्वयन गर्न लागिएको हो । मङ्सिर महिनामा सञ्चालन हुने स्नातकोत्तर तहको परीक्षाबाट यो प्रावधान कार्यान्वयनमा आउनेछ ।
विद्यार्थीको हितमा
डीन शर्माले सङ्क्रमणको जोखिम कायमै रहेकाले विद्यार्थीलाई लगातार चार घण्टा परीक्षा हलमा राख्दा सङ्क्रमण उच्च हुनेहुँदा यसलाई दुई घण्टामा सीमित गरिएको जानकारी दिए । विद्यार्थीलाई पानी पिउने, शौचालय, परीक्षाको व्यवस्थापनमा खटिनुपर्ने जनशक्ति लगायत सबै पक्षको विचार गर्दा परीक्षा दुई घण्टामा नै सीमित राख्नु उपयुक्त ठानिएको उनको भनाइ छ ।
राजधानीको पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले अन्तर्राष्ट्रिय मान्यता अनुसार स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने गरिएको उल्लेख गर्दै विशेष अवस्थाका लागि मात्र समय कम हुनुपर्ने बताए ।
स्नातकको डेढ घण्टा
यसका साथै अब स्नातक तहको परीक्षा डेढ घण्टा मात्रै सञ्चालन गरिने भएको छ । विगतमा तीन घण्टामा स्नातक तहको परीक्षा सञ्चालन लिने गरिएकोमा अब कोरोना सङ्क्रमण अवधिभर परीक्षाको आधा समय घटाइएको हो । विद्यार्थीलाई कक्षा १२ को वार्षिक परीक्षामा पनि समय घटाइएका कारण विश्वविद्यालयले यो निर्णय गरेको जनाइएको छ ।
अभ्यास सफल
यसपटक राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का लागि डेढ घण्टा समय तोकेको थियो । परीक्षा मङ्सिर १६ गते मात्र सकिएको हो । यसअघि सय पूर्णाङ्कको लिखित परीक्षा हुने गरेकोमा यस पटक ४० पूर्णाङ्कको मात्र लिखित परीक्षा लिएकाले समय घटाएर डेढ घण्टा बनाएको जनाइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३