काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा एक घन्टा भएको वार्तामा पार्टीभित्रको विवाद समाधानको उपायबारे गम्भीर छलफल भएको बुझिएको छ ।
बालुवाटार निकट स्रोतका अनुसार वार्ता सकारात्मक भएको छ । दुवै अध्यक्ष छिट्टै निकास निकाल्न सहमत भएका छन् ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सचिवालयमा प्रस्तुत प्रतिवेदनमाथि छलफल नगर्ने पुरानै शर्त राखेको बुझिएको छ । प्रचण्डले भने छलफल गरेर निर्णयमा पुग्न आग्रह गरेका छन् ।
२८ गते बस्ने स्थायी कमिटीको बैठकमा सहभागी हुन प्रचण्डले ओलीलाई आग्रह गरेका थिए । तर, ओलीले प्रतिवेदनमाथि छलफल नहुने भए आउने बताए । स्थायी कमिटीप्रति ओली लचिलो भएपनि केन्द्रीय कमिटी बैठक रोक्ने पक्षमा देखिए ।
प्रचण्डले समस्याको निकास निकाल्न छलफल गरेर बढ्नुपर्नेमा जोड दिए । दुवै नेताले थप छलफल गर्ने भन्दै संवादको ढोका खोलिएकोलाई सकारात्मक रुपमा लिएको बुझिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७