काठमाडौं – सडक विभागले वर्षाका कारण क्षतिग्रस्त भएका सडक मर्मतका लागि सरकारसँग एक अर्ब ५० करोड माग गरेको छ । वर्षाका कारण आएको बाढी र पहिरोले क्षतिग्रस्त भएका राष्ट्रिय राजमार्ग मर्मतका लागि सरकारसँग एक अर्ब ५० करोड रुपैयाँ माग गरिएको विभागले जनाएको छ । यो वर्ष गत वर्षभन्दा बढी वर्षा भएका कारण सडकमा बढी क्षति पुगेको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताएका छन् ।
उनका अनुसार अरनिको राजमार्गका विभिन्न खण्ड, बेनी जोमसोम सडक र साँफेबगर मार्तडी सडकमा बढी क्षति पुगेको छ । यी सडक पूरै बिग्रिएकाले सामान्य मर्मतले नपुग्ने उनको भनाई छ । उनले भने, “सामान्य मर्मतले मात्रै नहुने हुँदा हामीले थप रकम माग गरिएको हो ।”
सडक र पुलनै बगाएको स्थानमा मर्मतले नहुने भएकाले त्यहाँ पुनर्निर्माण नै गर्नुपर्ने उपमहानिर्देशक अधिकारीको भनाइ छ । पुल बगाएका स्थानमा बेलिब्रिज राखेर आवतजावतलाई नियमित गरिएको उनको भनाइ छ । उनले भने, “साँफेबगर–मार्तडी सडकमा एउटा बेलिब्रिज राख्न लागिएको छ ।”
उत्तर दक्षिण करिडोरअन्तर्गत कालीगण्डकी करिडोर निर्माणाधीन सडक हो । निर्माणाधीन सडकमा कम क्षति भए चालु ठेक्काबाट काम गराउन सकिने भए पनि धेरै क्षति पुगेकाले थप रकम आवश्यक भएको उपमहानिर्देशक अधिकारीले बताए । अरनिको राजमार्गको बाह्बिसेदेखि भन्सारसम्मको सडक पुनःस्थापना गर्नुपर्ने छ ।
सडक विभागले सडक बोर्ड नेपालले छुट्ट्याएको बजेटमार्फत वर्षेनी नियमित रुपमा सडकको मर्मत गर्दै आएको छ । धेरै राजमार्गमा यस वर्ष पनि मर्मतको योजना गरिएको विभागले जनाएको छ । कतिपय सडकमा यस वर्षदेखि विश्व बैंकको आर्थिक सहयोगमा समेतमर्मत हुँदैछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७