काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिको प्रयास सकारात्मक दिशातर्फ बढेको छ । पार्टी बैठकमै नआउने अडान लिएका ओली आज बस्ने स्थायी कमिटी बैठकमा सहभागी हुँदैछन् ।
स्थायी कमिटी सदस्य सुवास नेम्वाङले आजको बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागी हुने जानकारी दिए । हिजो प्रचण्डलाई भेटेर ओलीनिकट स्थायी कमिटी सदस्य शंकर पोखरेलले सहमतिको बिन्दुका बारेमा छलफल गरेका थिए । ओलीको सन्देश लिएर पोखरेल प्रचण्डलाई भेट्न पुगेका थिए । प्रचण्डको जवाफपछि ओली बैठकमा आउन सकारात्मक भएको बुझिएको छ ।
यसअघि ओलीले पार्टी सचिवालयमा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिनुपर्ने अडान राख्दै आएका थिए । उनले प्रस्ताव फिर्ता नलिएसम्म बैठकमा नजाने अडान राखेका थिए ।
ओली बैठकमा सहभागी हुने भएपछि नेकपा विवाद समाधानोन्मुख भएको अर्थ लगाउन थालिएको छ । पछिल्लो समय ओलीले प्रचण्डसँग सहमति निकाल्न प्रयास गर्दै आएका छन् । कतिपयले ओली बैठकमा सहभागी हुनुलाई उनीमाथि दबाब बढेकाले वाध्यता बनेको समेत विश्लेषण गर्न थालेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७