काठमाडौं – नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा आफ्नै जग्गामा इन्धन भण्डारण बनाउँदा करिब दुई अर्ब रुपैयाँ जोगिएको छ । तनहुँको आँबुखैरेनीमा झण्डै दुई अर्बको जग्गा खरिद गरेर इन्धन भण्डारण बनाउने योजना अघि बढेकोमा निगमको आफ्नै जग्गामा बनाउँदा यो रकम जोगिएको हो ।
गण्डकी प्रदेश सरकारको समेत संलग्नतामा जग्गा खरिद प्रक्रिया अघि बढेको भए पनि दुई वर्षअघि सुरेन्द्र पौडेल कार्यकारी निर्देशकको रुपमा आएपछि सो प्रक्रिया रोकेर आफ्नै जग्गामा बनाउने योजना अघि बढाएका थिए । प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी तनहुँका विभिन्न क्षेत्रमा जग्गा खरिदका लागि समिति नै गठन गरेर प्रक्रिया अघि बढाइसकेको थियो । “गण्डकी प्रदेश सरकार, त्यहाँका मन्त्री, तनहुँका जनप्रतिनिधिको समेत संलग्नतामा निगमले पोखरामा खाली जग्गा भए पनि कमिसनका लागि तनहुँको आँबुखैरेनी क्षेत्रमा जग्गा किन्ने अन्तिम तयारी थियो ।
प्रदेश मन्त्रिपरिषद्बाट पारित गरेरै खरिद गर्ने योजना भए पनि त्यो तुहियो,” जग्गा किन्ने प्रक्रियामा संलग्न प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यरत तत्कालीन एक अधिकारीले भने, “नयाँ कार्यकारी निर्देशक आएपछि प्रक्रिया रोकिँदा राज्यको कम्तीमा दुई अर्ब जोगियो ।”
पोखराको गगनगौंडामा रहेको निगम डिपोमा रहेको ७७ रोपनी जग्गामध्ये १७ रोपनीमा गण्डकी प्रदेशको मागलाई पूरा गर्ने गरी १० हजार किलोलिटर क्षमताको डिजेल भडारण गृह निर्माण भइरहेको छ । निगमका गण्डकी प्रादेशिक कार्यालय प्रमुख पुष्कर कार्कीले ७७ करोड लागतमा भण्डारण गृह बनाउने काम भइरहेको जानकारी दिए ।
९० दिनलाई पुग्ने इन्धन भण्डारण क्षमता बढाउने सरकारको नीति तथा योजनाअनुरुप दुई दशकपछि पहिलो पटक पोखरामा निगमले भण्डारण गृह निर्माण कार्य सुरु गरेको हो । एसियाली विकास बैंकको सहयोगमा २०५८ सालमा बनेयता भण्डारण स्तरोन्नति हुन नसकेको यस डिपो अब भने अमलेखगञ्जपछिको नेपालकै दोस्रो ठूलो पेट्रोेलियम भण्डारण गृह बन्ने छ ।
निगमका अनुसार हाल पोखरामा तीन दिनलाई माग धान्ने पेट्रोल र डिजेल ११ दिनलाई माग धान्ने क्षमता रहेको छ । निगमले जर्मन प्रविधिमा १० हजार किलोलिटरको क्षमताको भण्डारण बढाउँदा यसले ४० देखि ४५ दिनको माग धान्ने जनाएको छ । यस डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजेल र ३ लाख ५० हजार लिटर पेट्रोलको भण्डारण क्षमता छ ।
प्रदेशमा हरेक दिन ४ लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थको खपत हुन्छ । एक दिनमा यस प्रदेशमा ३ लाख २५ हजार लिटर डिजेल र एक लाख ४२ हजार लिटर पेट्रोल बिक्री भइरहेको छ ।
्
पाँच हजार किलोलिटर क्षमताका दुई वटा भर्टिकल ट्याङ्की निर्माणको काम हुने भण्डारणको काम गत कात्तिकदेखि सुरु भएकोमा १८ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । इन्धन भण्डारणको काममा पहिलोपटक नेपाली निर्माण कम्पनी संलग्न हुन लागेको छ । निगमका अनुसार आयोजना निर्माणको ठेक्का नेपाली समानान्तर र भारतको रेलिगेयरले संयुक्त रुपमा लिएका छन् । “पहिलोपटक नेपाली निर्माण कम्पनीको संलग्नतामा निर्माण कार्य भइरहेको छ,” प्रमुख कार्की भन्छन् ।
जर्मन प्रविधिमा आधारित इन्धन भण्डारण ट्यांक र यसमा जडान हुने संरचनाहरू पूर्ण अटोमेसनमा चल्ने गरी निर्माण हुन लागेका छन् । डिजेल लोड तथा अनलोड सुविधा पूर्णरुपमा स्वचालित र हाइटेक सुरक्षा प्रविधिमा आधारित हुने निगमले जनाएको छ । डिपोको भण्डारण क्षेत्रमा अग्नि सुरक्षाका लागि विशेष प्रविधि र सावधानीको कार्य पनि यही परियोजनाकै सिलसिलामा हुनेछ ।
निर्माण कम्पनीका इन्जिनियर कृष्ण उपाध्यायका अनुसार १० हजार किलोलिटर थप गर्न सक्ने गरी निर्माण भइरहेको छ । नयाँ भण्डारण गृहमा ३२ देखि ४० ट्यांकरले दैनिक डिजेल अनलोड गर्न सक्नेछन् । ट्यांकर अनलोडका लागि प्रतिघण्टा १ सय २० किलोलिटर क्षमताका पाँचवटा पम्प जडान गरिनेछ ।
निगमले योसँगै चितवन, झापा, भैरहवा र जनकपुर क्षेत्रमा समेत भण्डारण क्षमता वृद्धि गर्न लागेको छ । पोखरा डिपोबाट कास्की, तनहुँ , स्याङ्जा, पर्वत, म्यादी र बाग्लुङमा इन्धन आपूर्ति हुँदै आएको छ । आजको कारोबार दैनिकबाट
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३