ओखलढुङ्गा – सरकारले गरेको पूर्वाधार विकासको कामले मुलुकको मुहार फेरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले बताएका छन् । ओखलढुङ्गाको रामपुरमा आज आयोजित नेकपाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले वर्तमान सरकारको कामले मुलुकलाई गति दिएको दाबी गरेका हुन् ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएपछि शुरु भएका भौतिक विकासका कामलाई आफू मन्त्री भएपछि थप गतिकासाथ अघि बढाएको उनले बताए । वर्तमान सरकारले तीन वर्षमा गरेका महत्वपूर्ण पूर्वाधार विकासका कामका बारेमा मन्त्री नेम्वाङले सो अवसरमा जानकारी गराएका थिए ।
वर्तमान सरकारले दैनिक तीन किलो मिटरभन्दा बढी बाटो स्तरोन्नती गर्दै मुलुकभर एक हजार ५४४ किलो मिटर सडक तीन वर्षमा निर्माण सम्पन्न गरेको उनले बताए । सरकारले गरेका ठूला भौतिक पूर्वाधारका कामले मुलुक समृद्धिको दिशामा अघि बढेको उनको बनाइ छ । “सडक, पुल, भवन मात्रै होइन पूर्वाधार विकासका समग्र काम द्रुतगतिमा अघि बढेका छन् । यिनै कामले आज मुलुकको मुहार फेरिन थालेको छ”, उनले भने ।
प्रदेश–१ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले जिल्लाको चौतर्फी विकासको नेतृत्व आफूले गरिरहेको बताए । विगतमा सांसद मात्रै हुँदा आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भए पनि राज्यमन्त्री भएपछि समग्र जिल्लाको विकासमा लागि परेको उनले बताए । प्रदेश सरकारले भौतिक विकासका कामलाई प्राथमिकतामा राखेर प्रदेशका १४ वटै जिल्लामा काम गरिरहेको उनको भनाइ थियो ।
संविधानसभा सदस्य बालकृष्ण ढुङ्गेलले गाउँ र शहरको सम्बन्ध प्रगाढ बनाउन गाउँको उत्पादन शहरमा पुग्ने वातावरण बन्नुपर्ने बताए । “जबसम्म शहरको विस्कुटसँग गाउँको स्कुस साट्ने अवस्था आउँदैन तबसम्म जनताले सोचेको र चाहेको जस्तो समृद्धि आउँदैन”, ढुङ्गेलले दुर्गम गाउँको विकासले मात्रै मुलुकको समृद्धि देखाउने भएकाले तीनवटै तहका सरकार मिलेर विकासका काममा जुट्नुपर्ने बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३