काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक भोलि फेरि बस्ने गरी सकिएको छ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा झन्डै ४ घन्टा बसेको बैठकमा विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए।
प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए।
उनीहरू एक भइसकेको पार्टी फेरि विभाजन भएपछि पूर्वमाओवादी केन्द्रका नेताहरू एमालेमा गएकाले आफ्नो पार्टीलाई घाटा भएको बताएका थिए। केहीले भने अझै पनि सम्भावना रहेको र वृहत ध्रुवीकरण गरेर सबै माओवादीलाई समेटेर जानु पर्ने बताएका थिए।
बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकतालाई खारेज गर्ने सर्वोच्च अदालतको फैसला समस्या भएको बताएका थिए। अदालतले अनावश्यक ठाउँमा हात हालेको पनि प्रचण्डको भनाइ थियो।
नेता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीलाई सरकारबाट बहिर्गमन गर्नु अनिवार्य भएको बताए।
आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे भने निर्णय गरेको छैन।
बैठक भोलि बिहान ११ बजे फेरि पेरिसडाँडामा बस्नेछ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३