ललितपुर – जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा सङ्घीयताविद् राजेन्द्र प्रसाद श्रेष्ठले ओलीले दिएको आश्वासन टाठपल्टेको व्यापारीले दिएको बाउन्स चेक जस्तै भएको बताए । उनले उक्त कुरा जनता समाजवादीको शिल्पी विशेष प्रदेश समितिको आयोजनामा भएको प्रशिक्षण कार्यक्रमा बताएका हुन् ।
श्रेष्ठले प्रतिनिधिसभा पुनस्र्थापनापछि प्रधानमन्त्री एकपटक पनि प्रतिनिधिसभाको बैठक कक्षमा प्रवेश नगरेको मात्र होइन हिउँदे अधिवेशनको मुख्य काम विधेयक पारित गर्नु भएता पनि सरकारले आजसम्म एउटा विधेयक पनि प्रतिनिधिसभामा प्रस्तुत नगरेको बताए । उनले भने ‘सरकारले संसदका विभिन्न समितिहरूले पठाएको विधेयक रोकी राख्ने अनि पुनर्स्थापित संसदले प्रभावकारी काम गर्न सकेन भन्दै भ्रम छर्नु ‘जो चोर उसैको ठूलो स्वर’ भनेजस्तो भयो’ ।
आफूले असंवैधानिक रूपमा प्रतिनिधिसभाको विघटनका लागि चालेको कदम ठीक छ भन्ने जनतामा सन्देश दिन प्रधानमन्त्रीले प्रतिनिधिसभाका समितिहरूले प्रतवेदनसहित पठाएका विधेयकहरू हाउसमा प्रस्तुत नगरेकोमा आक्रोश पोख्दै उनले भने, ‘प्रधानमन्त्रीमा संसदको सामना गर्ने हिम्मत देखिएन । त्यसैले उनले नैतिकताको आधारमा राजिनामा गर्नु पर्छ ।’
पार्टीको कार्यकारिणी सदस्य रहेका नेता श्रेष्ठले नेपालमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरणजस्ता युगान्तकारी परिवर्तनका क्षेत्रहरूमा प्राप्त सीमित उपलब्धीहरू पनि ओली शासनमा धरापमा परेको हुँदा अहिलेको पार्टीको मुख्य कार्यभार प्राप्त उपलब्धीहरूको रक्षा गर्नु हो, त्यसपछि मात्र थप उपलब्धीहरू प्राप्त गर्न सकिने बताए ।
ओलीले वार्तालाई आफ्नो कुर्सी जोगाउने अष्त्रकोरूपमा प्रयोग गर्ने गरेको आरोप
ओलीले पटकपटक आश्वासन दिँदै धोका दिने गरेको भन्दै श्रेष्ठले वार्तालाई आफ्नो ‘कुर्सी जोगाउने अष्त्र’कोरूपमा प्रयोग गर्ने गरेकोमा ओलीको कटाक्ष गरे । उनले ओली सरकारको उल्टो दिनगन्ती सुरु भएको बताउँदै भने, ‘अहिलेको परिस्थितिमा ओलीले दिएको आश्वासन टाठपल्टेको व्यापारीले दिएको बाउन्स चेक जस्तै हो । यसमा फस्नु हुँदैन ।’ नेपाली काङ्ग्रेसले भर्खरै ओली सरकारको विकल्प दिन पहलकद्मी लिने भनेर गरेको निर्णय सकारात्मक भएको बताए ।
सांसद श्रेष्ठले वर्तमान प्रधानमन्त्री बोल्नमा शिरोमणी काममा कछुवा जस्तो भन्दै सय वर्षपछि हुने कुरा पनि अहिले नै बोलेर मैले त उहिल्यै भनेको थिएँ भन्ने प्रभाव दिन काम भए पनि नभए पनि बोल्दै हिँड्ने प्रवृत्ति रहेको विश्लेषण गरे र भने ‘ओली आश्वासन शिरोमणी मात्र नभई शिलान्यास र उद्घाटन शिरोमणी पनि हुन् ।’
प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले नेपालमा शिल्पी विशेष प्रदेशको संरचना कस्तो हुन्छ भन्ने सन्दर्भमा गैरभौगोलक सङ्घीयताको अन्तर्राष्ट्रिय अनुभवहरू र नेपालमा राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगको १० जोड १ को प्रादेशिक संरचनासम्बन्धी प्रस्ताव र जनता समाजवादी पार्टीको घोषणापत्र र विधानले गरेको व्यवस्थाबारे प्रशिक्षणात्मक मन्तब्य तथा प्रश्नोत्तरको क्रममा स्पष्ट पारे ।
देशमा एक वैचारिक नेताको छवी बनाएका श्रेष्ठले नेपालमा सङ्घीयता, सुशासन र समृद्धिसहितको समाजवाद आवश्यक रहेको बताउँदै मानिसले मानिसलाई गर्ने सबैखाले शोषण उत्पीडनबाट जनतालाई मुक्त गर्नका लागि पार्टीले समुन्नत सङ्घीय समाजवादको सैद्धान्तिक अवधारणा अगाडी सारेको बताए । उनले वर्तमान प्रशासनिक सङ्घीयताबाट पहिचानसहितको समुन्नत सङ्घीयता र वहुराष्ट्रिय राज्य सुहाउँदो समाजवादको खोजीकोे क्रममा नै जसपाले समुन्नत सङ्घीय समाजवादलाई पार्टीको मौलिक सिद्धान्तको रूपमा ग्रहण गरेको बताए ।
शिल्पी विशेष प्रदेश समितिका अध्यक्ष दलमर्दन कामीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टी कार्यकारिणी समिति सदस्य दानवहादुर विश्वकर्मा, केन्द्रीय सदस्यहरू राजन केसी, कमला हेमचुरी, कृष्ण घलान लगायतले पनि आफ्नो मन्तव्य दिएका थिए । पार्टी केन्द्रीय सदस्य तथा ३ नं प्रदेशका उपाध्यक्ष न्हुच्छेलाल महर्जनको पनि उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन डि.वि. नेपालीले गरेको थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३