काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादल नेकपा एमालेबाट राष्ट्रिय सभाको रिक्त सदस्यका लागि ६ जेठमा हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । एमालेले उनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
बागमती प्रदेशबाट अन्यमा निर्वाचित हुने राष्ट्रिय सभा सदस्य पद खाली भएपछि उपनिर्वाचन हुन लागेको हो । सोही पदमा माओवादी केन्द्रमा रहँदा बादल नै निर्वाचित भएका थिए । उनले दल त्याग गरेपछि माओवादीले उनलाई सांसद पदबाट हटाएको हो ।
राष्ट्रिय सभाको उपननिर्वाचनमा बागमती प्रदेशका प्रदेश सभा सदस्य, स्थानीय जनप्रतिनिधिमध्ये मेयर/उपमेयर र गाउँपालिका अध्यक्ष/उपाध्यक्षले मतदान गर्न पाउनेछन् । प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय निकायका मेयर/उपमेयर वा गाउँपालिका प्रमुख/उपप्रमुखको मतभार १८ रहने व्यवस्था छ ।
बागमती प्रदेशमा प्रदेश सभा सदस्य र स्थानीय निकायको जनप्रतिनिधिको संख्या हेर्दा नेकपा एमाले बहुमत नजिक छ । एमालेको सबै मत बादललाई खसेमा र केही मत उनले माओवादीको तान्न सकेमा जीत्ने सम्भावना रहन्छ । तर, काँग्रेस र माओवादी केन्द्र मिलेर उम्मेदवारी दिएमा बादल पराजित हुन सक्छन् ।
काँग्रेस र माओवादी केन्द्रले बादलविरुद्ध संयुक्त उम्मेदवारी दिने सम्भावना रहेको बुझिएको छ । माओवादी केन्द्रले राष्ट्रिय सभाको सदस्यका लागि हुने उपनिर्वाचनमा काँग्रेसलाई समर्थन गर्ने भित्री सहमति भएको बुझिएको छ । एमालेका नेपाल-खनाल पक्षबाट पनि केही मत क्रस भएमा बादललाई चुनाव जित्न कठिन हुन्छ । यसका लागि काँग्रेस र माओवादी केन्द्रले रणनीति बनाएका छन् ।
एमालेबाट बागमती प्रदेश इञ्चार्ज समेत रहेका बादललाई पराजित गरी झड्का दिने रणनीतिमा माधव नेपाल र झलनाथ खनाल समूह देखिएका छन् । यसकारण पनि बादलका लागि राष्ट्रिय सभाको उपनिर्वाचन फलामको च्युरा बन्न सक्छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३