काठमाडौं – गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्धको अविश्वासको प्रस्तावमाथि आज टुंगो लाग्दैछ । तीन दिन अघि दर्ता भएको अविश्वासको प्रस्तावको आजसम्म टुंगो लगाइसक्नुपर्ने व्यवस्था अनुसार निर्णयार्थ प्रस्तावमाथि मतदान हुने बुझिएको छ ।
कोरोना भाइरसको परीक्षण नगरी अविश्वासको प्रस्तावमाथि मतदान हुन नदिने अभिप्रायले सत्तापक्षका सांसदहरुले विरोध गरेपनि आज मतदानको तयारी भएको हो । गण्डकीमा पृथ्वी सरकार ढल्न नदिन बालुवाटार देखि प्रयास चलिरहेको छ ।
सत्तारुढ एमालेले आफ्नो मत सुरक्षित गरेर कम्तिमा ३ मतलाई अविश्वासको प्रस्तावमा जानबाट रोक्न सकेमा सरकार ढल्नबाट बच्न सक्छ ।
गण्डकी प्रदेशमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र एक भएपनि अविश्वासको प्रस्ताव पारित हुँदैन । काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका सबै सांसदले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेमा गुरुङ्गको सरकार ढल्छ । तर, फ्लोर क्रसको सम्भावना माओवादी र जनमोर्चामा पनि देखिएको छ । यसलाई दृष्टिगत गरी सांसदहरुलाई होटलमा राखिएको छ ।
गण्डकीमा जनता समाजवादी पार्टी र स्वतन्त्र सांसदले अविश्वासको प्रस्तावको पक्षमा मत दिने सम्भावना छ । माओवादी र जनमोर्चाबाट फ्लोर क्रस भएमा एमालेबाट पनि फ्लोर क्रस हुनसक्ने सम्भावना उत्तिकै छ । यसबारे समेत चासो देखिएको छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् । काँग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्र १ जना सासद छन् । स्वतन्त्र सांसद दिपक मनाङे एमालेलाई समर्थन गर्दै आएका छन् । उनले पनि अविश्वासको पक्षमा मतदान गर्ने सम्भावना छ ।
गण्डकीमा माओवादी र जनमोर्चाबाट समेत मतदान नगरी अनुपस्थित भइदिने या फ्लोर क्रस गर्ने सम्भावना देखिएको छ । त्यसलाई रोक्न दुवै दल सक्रिय भएका छन् ।
एमालेबाट माधव नेपाल समूहका सांसदहरुबाट फ्लोर क्रसको सम्भावना रहेको छ । यसले गण्डकी प्रदेशमा आजको घटना रोचक हुनसक्छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३