काठमाडौं – नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा लागेका २ मेयर र ५ उपमेयरको पद जाने भएको छ । उनीहरुलाई माओवादीले पार्टीबाट निष्काशित गरी निर्वाचन आयोगलाई पदमुक्त गर्न पत्र लेखेपछि पद जाने भएको हो ।
दल त्यागसम्बन्धी नियम अनुसार उनीहरु पदमुक्त हुने भएका हुन् । निर्वाचन आयेगले त्यसबारे निर्णय लिनेछ ।
पदमुक्तका लागि पत्र निर्वाचन आयोग पुगेका माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुमा रौतहटका दुई मेयर र पाँच उपमेयर छन् । उनीहरु सहरी विकासमन्त्री प्रभु साहनिकट हुन् । साहले पनि दल त्याग गरेपछि सांसद पद गुमाइसकेका छन् ।
पार्टीको प्रदेश समिति सदस्य रहेका नगर प्रमुखहरु मौलापुरमा रिनाकुमारी साह र कटहरियाका सियाराम कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको माओवादीले जनाएको छ ।
यस्तै, उपप्रमुखहरु मौलापुर नगरपालिकाका गौरीशंकर प्रसाद जयसवाल, फतुवाविजयपुरकी कान्तिदेवी महतो, देवाही गोनाहीकी परनियादेवी पटेल, माधवनारायणकी सिमलकुमारी साह र यमुनामाइ गाउँपालिका उपाध्यक्ष गीतादेवी साहलाई पार्टीबाट निष्कासित गरेको माओवादी केन्द्रका रौतहट जिल्ला सचिव देवेन्द्र पेटलले बताए ।
माओवादीबाट विजयी उनीहरु एमालेको राजनीतिक गतिविधिमा संलग्न रहेकाले पार्टीको विधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार कारबाही गरिएको माओवादीले जनाएको छ ।
यसअघि सातैजनालाई स्पष्टिकरण मागिएको थियो । चित्तबुझ्दो जवाफ नआएपछि पदमुक्त गर्ने पत्र निर्वाचन आयोगमा पठाइएको उल्लेख छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएर दल त्याग गरेको भन्दै पार्टी केन्द्रीय समितिको बैठकले दुई मेयर र पाँच उपमेयरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासित गरिएको पार्टी अध्यक्ष पुष्पकमल दाहालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३