काठमाडौँ – एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफ्ना मागहरू पूरा गर्न प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चार बजेसम्मको समय दिएको छ।
खनाल-नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले दिउँसो ४ बजेसम्म पनि आफूहरूले उठाएका एजेन्डासँग सहमति नभए सांसदहरूले राजीनामा दिने नेता भीम रावलले बताए।
‘वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीलाई पठाउनुभएको ६ बुँदे मागसहितको पत्रको सम्बोधन गर्नुपर्छ। त्यसका लागि हामीले ४ बजेसम्मको समय दिएका छौं,’ उनले भने,’हाम्रो कारबाही फुकुवा गर्ने भन्दा पनि पार्टीलाई २०७५ जेठ ३ को अवस्थामा फर्काउने प्रतिवद्धता ठूलो कुरा हो। हामीले पार्टी एकताका लागि यही विषयमा अन्तिमा प्रयास गर्ने भनेको हो।’
यसअघि बालुवाटारमा बसेको ओली पक्षीय स्थायी कमिटी बैठकले नेपालसहित उक्त समूहका ४ जना नेतालाई गरिएको निलम्बन फुकुवा गरेको थियो।
एमालेमा नेपाल पक्षले तत्कालीन एमाले र माओवादी केन्द्र एक भएको ०७५ जेठ ३ अघिकै अवस्थामा फर्किनु पर्ने र २०७७ फागुनमा एमाले ब्युँतिएपछि ओलीले गरेका निर्णय खारेज गर्नुपर्ने माग राख्दै आएको छ।
यसअघि नेपाल पक्षका २८ जना सांसदले संसदीय दलको ह्वीप उल्लंघन गर्दै वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा लिएको विश्वासको मत बहिष्कार गरेका थिए।
प्रधानमन्त्री ओली विश्वासको मत नपाएर पदमुक्त भएपछि सोही राति राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन आज (बिहीबार) राति ९ बजेसम्मको समय दिएकी थिइन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आज राति ९ बजेसम्म संसदमा आफूहरूको बहुमत रहेको दाबी राष्ट्रपतिसमक्ष पेस गर्न नसेके संविधानको धारा ७६ को ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओलीले नै फेरि प्रधानमन्त्री नियुक्त हुनेछन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३