मकवानपुर – बागमती प्रदेशबाट रिक्त रहेको राष्ट्रिय सभा सदस्यको चयनका लागि मतदान सुरु भएको छ ।
बिहीबार बिहान हेटौंडा— ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा बनाइएका तीनवटा बुथमा मतदान भइरहेको छ । बिहान ९ बजे सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।
झरी परिरहकाले त्रिपालकाे व्यवस्था गरेर मतदान सुरू गरिएकाे हाे । पानी परिरहेकै बेला गृहमन्त्री तथा राष्ट्रिय सभा सदस्यका उम्मेदवार रामबहादुर थापा छाता अाेढेर मतदानस्थलमा पुगेका छन् । साथै विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा र नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङ, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पनि मतदान स्थलमा पुगेका छन् ।
राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा ‘बादल’लाई एमालेले आधिकारिक उम्मेदवारका रुपमा अघि सारेको छ । उता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र एमालेकै माधव नेपाल समूहको संयुक्त गठबन्धनबाट खिमलाल देवकोटालाई प्रतिस्पर्धी उम्मेदवारका रुपमा अघि सारिएको छ । साथै अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ रहेका छन् । तापनि मुख्य प्रतिस्पर्धा गृहमन्त्री समेत रहेका बादल र संयुक्त गठबन्धनका देवकोटाबीच हुने देखिन्छ ।
मतदान स्थलमा बनाइएका तीनवटा बुथमध्ये ‘क’ बुथमा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् भने ‘ख’मा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । त्यसैगरी कोरोना संक्रमित मतदाताहरुका लागि ‘ग’ बुथ बनाइएको हो । राष्ट्रिय सभा सदस्य चयनका लागि सम्बन्धित प्रदेशका प्रदेश सभा सदस्यहरु र उक्त प्रदेशभित्रका स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहने व्यवस्था छ ।
हाल बाग्मती प्रदेश सभामा कायम ११० सदस्य र बाग्मती प्रदेशअन्तर्गतका सबै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी २३८ जना रहेका छन् । सबै लगाएर कुल ३४८ मतदाता रहेको बताइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३