काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता संघर्षको निर्णायक लडाईंमा साथ दिनेहरुलाई मन्त्रिमण्डलमा सहभागी गराउने भएका छन् । उनले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई उपप्रधानमन्त्रीसहित कम्तिमा ७ मन्त्रालयको जिम्मेवारी दिने भएका छन् ।
विश्वस्त स्रोतका अनुसार ठाकुर समूहबाट राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव र चन्दा चौधरी मन्त्री बन्ने निश्चितप्रायः छ । विमल प्रसाद श्रीवास्तव, उमाशंकर अगरिया, लक्ष्मणलाल कर्ण, प्रमोद साह, र चन्द्रकान्त चौधरी पति दौडमा छन् ।
ओलीलाई ७ जेठमा बहुमतको प्रधानमन्त्री बनाउन समर्थनसहित हस्ताक्षर गरेर महन्थ ठाकुर र राजेन्द्र महतोले ठूलो गुन लगाएका थिए । गुन तिर्न उनले जसपालाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने भएका हुन् ।
ओलीले रामबहादुर थापा बादललाई बढुवा गरेर सरकारमा लाने भएका छन् । उनले बादललाई उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मा दिने बुझिएको छ । ओलीलाई कठिन घडीमा साथ दिने पूर्वमाओवादी मन्त्रीमध्ये लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको पनि सम्भावना बलियो छ ।
सरकारमा महेश बस्नेत, गोकुल बाँस्कोटा र कर्ण थापाले पनि अवसर पाउने सम्भावना बलियो छ । ओलीलाई सत्तामा टिकाइराख्न बस्नेतले निकै महत्वपूर्ण भूमिका खेलेका थिए । बस्नेतले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको बुझिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३