काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तनको प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् ।
सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल नाम राख्ने घोषणा गरेपछि भट्टराईले नामकरण प्रक्रियाप्रति असन्तुष्टि जनाएका हुन् ।
बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी र तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङ्ग छिरिङ्ग शेर्पा नामकरण गरिएको जानकारी दिएका थिए ।
नेता भट्टराईले ऐतिहासिकरुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधि सहित नागरिक स्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्ने धारणा सार्वजनिक गरेका छन् ।
सुकेटार विमानस्थलबारे सामाजिक सन्जालमा उनले लेखेका छन्, ‘असल काम पनि असल नियत र सही प्रकृयाबाट गरियो भनेमात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३