काठमाडौं – नेकपा (एमाले) का एकता पक्षधर नेता ठाकुर गैरेले आफूहरु एकताको लागि अझैपनि प्रयासरत रहेको बताएका छन् । उनले एकता सम्भव भएको भन्दै यसको लागि अध्यक्ष केपी शर्मा ओलीले दुई वटा काम र माधव नेपालले पनि दुई वटा काम गर्नुपर्ने बताएका छन् ।
एक साक्षात्कारमा बोल्दै उनले भने,‘एमाले एकताको लागि केपी ओलीले गर्नुपर्ने जम्मा दुई वटा काम छन्, पहिलो काम माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारबाही फिर्ता लिने र अर्को १० बुँदे सहमतिको अक्षरंश पालना गर्ने प्रत्याभूति आउनुपर्छ ।’
त्यस्तै उनले माधव नेपालले पनि दुई वटा काम गर्नुपर्ने बताए । उनकाअनुसार नेता नेपालले पहिलो काम निर्वाचन आयोगमा दल दर्ताको लागि दिएको निवेदन फिर्ता लिने र अर्को पार्टी एकताको लागि तयार हुने हो ।
उनले आफूहरु एकता पक्षधर ५७ जनाको हिजो र आज बसेको बैठकले पनि यही निश्कर्ष निकालेको सुनाए । उनले भने,‘अहिले पनि एमालेमा एकता पक्षधरको बलियो जनमत छ । जनताले पनि यही चाहेका छन् । लाखौं जनता एकताको पक्षमा छन् । विभाजन गर्ने र यिनीहरु गएपनि केही फरक पर्दैन भन्नेहरु त औंलामा गनिने संख्या होला । तर, एमाले एकता चाहानेहरु भने लाखौंको संख्यामा छन् ।’
राष्ट्रिय एकता, अखण्डता, सावैभौमिकताको रक्षा, संविधानको कार्यान्वयन लगायतको लागि पनि एमालेको एकता अनिवार्य भएको गैरेले सुनाए । उनले आफ्नो लागि पछिल्लो समय पीडादायी क्षण भएको सुनाए । एमालेमा विग्रह फागुन २८ गतेदेखि नै सुरु भएको उनको भनाई छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३