काठमाडौं – औपचारिक विभाजनको बाटोमा गएको नेकपा एमालेभित्र नेता तानातानको शृंखला सुरु भएको छ ।
वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको प्रक्रिया अघि बढाएपछि विगतमा नेपाल खेमाबाट टाढिएका उनका सम्धी सोमप्रसाद पाण्डे पुनः नेपालतिरै फर्किएका छन् ।
उता, माधव नेपाललाई साथ दिने बताउँदै आएका एमाले उपाध्यक्ष वामदेव गौतम भने दुवै पार्टीका बैठकमा सहभागी भएका छैनन् ।
चन्द्रागिरि रिसोर्टमा जारी प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीको बैठकमा विगतमा एमालेमै रहेका भनिएका पाण्डे, माया ज्ञवाली, रामप्रित पासवानलगायतका नेता सहभागी भएको सो पार्टीका नेता जगन्नाथ खतिवडाले बताए ।
उपाध्यक्ष गौतम भने हिजोदेखि जारी नेपाल पक्षधर नेताहरूको बैठकमा सहभागी भएनन् भने तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी स्थायी कमिटी बैठकमा समेत सहभागी भएका छैनन् ।
एमाले पार्टी कार्यालयका शेरबहादुर तामाङका अनुसार गौतम अहिलेसम्म बैठकमा सहभागी हुन पुगेका छैनन् ।
विगतमा नेपाललाई साथ दिँदै आएका १० जना स्थायी कमिटी सदस्य जारी बैठकमा सहभागी भए पनि गौतम हालसम्म बैठकमा उपस्थित भइनसकेको तामाङले जानकारी दिए ।
पार्टी विभाजनको कसरत भइरहेका वेला दुवैतर्फबाट केन्द्रीय सदस्य पनि तानातान चलिरहेको छ । निर्वाचन आयोगले बुधबार नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्न साढे दुई घन्टाको समय छुट्याएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३