अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र देखाएर जागिर खाने दुई जना विरुछ मुद्दा दायर गरेको छ । आयोगले ओखलढुङ्गाको पूर्वाधार विकास कार्यालयमा रा.प. अनंकित प्रथम श्रेणी ल्याब टेक्निसियन पदमा करार सेवामा कार्यरत राम एकवाल यादव र कैलालीको राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडका उच्चमाध्यमिक विद्यालय संयोजक मथुरा चौधरीविरुद्ध मुद्दा दायर गरेको हो ।
ओखलढुङ्गाको पूर्वाधार विकास कार्यालयमा रा.प. अनंकित प्रथम श्रेणी, ल्याब टेक्निसियन पदमा करार सेवामा कार्यरत राम एकवाल यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी आयोगमा परेको थियो । उक्त उजुरीको आधारमा अनुसन्धान हुँदा यादवले राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रही आर्थिक लाभसमेत लिने उद्देश्यले डिप्लोमा इन सिभिल इनिजनियरिङको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको पाइएको आयोगले जनाएको छ ।
उनले पूर्वाधार विकास कार्यालय ओखलढुङ्गामा सव–इन्जिनियर पदमा डोरहाजिरीमा तथा रा.प. अनंकित प्रथम श्रेणी ल्याब टेक्निसियन पदमा फरकफरक मितिमा दुई वर्षभन्दा बढी अवधिसम्म कार्यरत रही तलव, भत्ता र अन्य लाभसमेत लिएको देखिएको छ । उनले भ्रष्टाचार गरेको पुष्टि भएकोले आयोगले कैद र जरिवानाको सजाय हुन मागदावी सहित आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
कैलाली जिल्ला अन्तर्गत सञ्चालित राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडका उच्चमाध्यमिक विद्यालय संयोजक मथुरा चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्रहरु छानविन गरिपाँउ भन्ने उजुरी परेको थियो । उक्त उजुरीको आधारमा अनुसन्धान हुँदा मथुरा चौधरीले राष्ट्रसेवकको ओहदा लिई सोबाट लाभ लिने उद्देश्यले स्नातक तहको नक्कली प्रमाणपत्र पेश गरी माध्यमिक तहको स्थायी शिक्षक पदमा नियुक्त भएको पाइएको छ ।
उक्त पदमा रहेर उनले भ्रष्टाचार गरेको पुष्टि हुन आएको आयोगको भनाई छ । चौधरीविरुद्ध पनि आयोगले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३