आयुष,
मलाई थाहा छैन, तिमी यति बेला कहाँ के गर्दै छौ, कहाँ भौतारिँदै छौ! म त यतिबेला हस्पिटलको बेड नं १३६ मा छट्पटाइरहेकी छु।
आत्महत्या गर्दै गरेका जस्ता देखिने केही सलाइनहरुले मलाई एकतमासले हेरिरहेछन्। अझ भनूँ, मलाई आफ्नो आयु थपिदिँदै छन्। मेरो हातमा थुप्रै सुइहरु कोपिएको छ र सलाइनसम्म पाइप बिछ्याइएको छ। मलाई यी नै पाइपहरुले यताउता गर्न बन्देज गरीरहेका छन्।
आखिर संसारको नियम नै यस्तै रहेछ। केही पाउन केही गुमाउनु नै पर्ने, केही भरिन केही रित्तिनु नै पर्ने, मलाई भर्नका लागी ती स्लाइनहरुले आफ्नो आयुको बली चढाएका छन्। आफू रित्तिएका छन्। कसैलाई रित्तो बनाएर आफू भरिनुमा पनि भयंकर पीडा रहेछ। म आज महशुस गर्दैछु।
आयुष, म यतिबेला ठूलो दोधारको संघारमा उभिएकी छु। म बाँचेकोमा खुसियाली मनाउँ या नमरेकोमा पश्चाताप गरुँ? म अन्योलमा छु। म उतिनै बेला मरेकी भए आनन्द हुने थियो। तर बाँच्न त झनै पलपल मर्नुपर्दो रहेछ। म मर्दामर्दै बाँचिरहेकी छु।
मेरो पेटको दायाँ भागबाट चिरिएको छ। एक दर्जन टाँकाहरुले चिरिएको भागलाई जमाउन हरप्रयास गरिरहेछन्। घाउ बल्किएर दुखेको छ, तर मेरो पेटभन्दा बढी मन चिरिएको छ। चिरिएको पेटमा त डाक्टरले टाँका लगाइदिए तर चिरिएको मनमा टाँका लगाइदिने कोही भएन।
केही पेनकिलरका ट्याबलेटहरुले मेरो दुखाइ कम गराउने असफल प्रयास गरीरहेछन्। घाउ दुखेको त औषधि पाइदो रहेछ। कास मन दुखेको पनि तिमीले केही औषधि पठाइदेउ न है।
आयुष, भर्खरै एउटी नर्स आएर सोधिन् ‘घाउ कत्तिको दुखेको छ?’ घाउ हेरिन्। घाउको डहन त बरु जसोतसो सहेकै थिएँ। घाउ देख्नासाथ फेरि त्यही दिन सम्झिएँ। देखिएको घाउभन्दा सयौँ गुणा बढी मन दुखेर आयो।
आयुष, मैले अतितको कुन पानामा के भनेर चिन्ह लगाउँ त्यो दिनलाई? कसरी बिर्सूँ त्यो दिनलाई? जुनदिन म बिना कुनै कारण, बिना कुनै गल्ति कसैको हातको तिखो छुरामा उनिन पुगेँ। म कसरी विश्वास गरुँ कि त्यो तिखो छुरा कसैले मेरो पेटमा रोपिदियो।
म नचाहँदा नचाहँदै पनि त्यो कालो दिनलाई अहिले सम्झिरहेकी छु। जुन दिनले मलाई मृत्युको ढोकासम्मै पुर्यायो तर मृत्युको ढोका खुल्न ढिला गरेकोले बाँच्न सफल भएँ। बाँच्न सफल पनि खै कसरी भनूँ, बाँच्न बाध्य भएँ।
सदाजस्तै ट्युसन सकिएपछि घर फर्किँदै थिएँ। झ्याउँ–झ्याउँ गर्ने झ्याउँकिरीहरुले भाका फिँजाएर वाक्क पारिरहेका थिए। वरिपरिका बस्तीलाई साँझको अँध्यारोले छोप्दै आफ्नो अधिकार जमाइरहेको थियो।
म पनि छिटो छिटो घर पुग्न पाइला लम्काउँदै थिएँ। त्यति नै बेला जापानबाट साथीले फोन गरी। मैले कानमा इयरफोन लगाएर उसैसँग कुरा गर्दै घरतिर जाँदै थिएँ।
त्यति नै बेला चालिस पचास वर्ष उमेरको जस्तो देखिने मान्छे ‘बचाउ-बचाउ’ भन्दै हस्याङ–फस्याङ गर्दै मेरो सामुन्नेमै आइपुग्यो। म बेस्सरी तर्सिएँ। ऊ एकदमै आत्तिँदै र डराउँदै आएको थियो। उसलाई दुई जना मान्छेहरुले छुरा हातमा लिएर पछ्याइरहेका रहेछन्। भाग्दै गरेको मान्छे मेरो पाखुरामा समातेर डाँको छोडेर रोयो।
लखेट्दै गरेका मान्छेहरु मेरो अघि आएर ठिंग उभिए। मेरो सातोपुत्लो गयो। हात खुट्टा काप्यो। मेरो हात समाएर अलाप विलाप गर्दै रोइरहेको मान्छे झनै थर्थर कापिरहेको थियो। मेरो पछिपट्टि बसेर छलिने प्रयास गरीरहेको थियो।
अँध्यारोले मान्छेको अनुहार तिरमिर देखिने बेला भैसकेको थियो। मैले हतपत मोबाइलको लाइट बालेर छुरा लिएका मान्छेहरुतिर हेरेँ। कस्तो संयोग? मैले लाइट बाल्नु र एक छुरावालाले मुख छोपेको रुमाल फुत्किनु एकैपटक भयो।
जब अनुहारमा लाइट बालेँ, तब म छाँगाबाट खसेजस्तै भएँ। त्यो छुरावाला अरु कोही नभएर तिमी थियौ। अहो! कस्तो अपत्यारिलो सत्य? कस्तो भयंकर अचम्म?
म त तिमीसँग विगत चार वर्षदेखि संगत गर्दै आएकी मान्छे। म त तिमीलाई माया गरेकी मान्छे। तिमी त मेरो सबैभन्दा नजिकको मान्छे। तिमी त मेरो विश्वासको मान्छे, हरपल हरक्षण सम्झनामा आउने मान्छे। म कसरी पत्याउँ त्यो छुरा बोकेको मान्छे तिमी हौ भनेर।
म त विगतदेखि नै बिहान उठ्दा सबैभन्दा पहिले तिम्रै नाम सम्झँदै ब्यझिएँ र साँझ तिम्रै नाम सम्झिँदै निदाएँ। निदाउथेँ हरेक दिन, तिम्रै तस्बिर टाँसेर छातीमा, तिमी नै आँउथ्यौ मेरो हर सपनीमा।
बिपनीमा पनि त म धेरैभन्दा धेरै समय तिम्रै वरीपरी बिताउँथेँ। कलेजमा तिम्रै वरिपरी, ट्युसन क्लासमा पनि तिमी सँगै हुन्थ्यौ। लाग्थ्यो, तिम्रो सामिप्यताले मलाई अंगालिरहेछ।
तर म त चिन्नै सकेकी रहेनछु तिमीलाई, बुझेकी रहेनछु तिम्रो अर्को पाटो। चार चार वर्ष संगत गर्दा पनि थाहा नै पाएकी रहेनछु तिम्रो रुप। तिमी त नौनीभन्दा कोमल मान्छे, खै कसरी हातमा छुरा बोकेर कसैलाई मार्न भन्दै लखेट्दै मेरो अघि आईपुग्यौ?
मैले कसरी विश्वास गरुँ त्यो तिमी हौ। यो सब देख्नुभन्दा पहिले मेरा आँखाहरु किन फुटेनन्। छुरावाला आयुष देख्नु पहिले नै यो संसार देख्ने आँखाहरु बन्द हुनुपर्थ्यो, मेरो आँखाले तिमी नदेखिनु पर्थ्यो देखियो। मलाई विश्वास नै लागिरहेको थिएन कि तिमी त्यही आयुष थियौ जो मेरो प्रियतम थियौ।
मलाई थाहा भएन, नजरले नै छुरा चलाउने मान्छे तिमीले हातमा पनि छुरा बोकी हिँड्छौ भनेर। मेरो आयुष त्यति बेला हातमा छुरा बोकेर कसैको जीवन बर्बाद गर्न मेरो अघि उभिएको थियोँ।
म त खै के के सोँच्न पुगेँ। तिम्रो अनुहार देख्नासाथ म आँखा चिम्लिएछु र खै कसरी तिम्रै नाम लिएर एक्कासी बेस्सरी चिच्याउन पुगेछु। त्यसको केही सेकेन्डमै मेरो पेटमा केही उनिएको भान भएको थियो। पेट बेस्सरी दुखेको थियो। त्यसपछि के भयो, मलाई केही थाहा छैन। भाग्दै आएको मान्छेको अवस्था पनि मलाई केही थाहा भएन।
घटना भएको तीन दिनपछि मेरो होस आएछ। मेरो होस आउँदा म यही बेड नम्बर १३६ मा नै पल्टिरहेकी थिएँ। मेरो आडमा बुबा-आमा मलाई नै हेरेर बसिरहनु भएको थियो। मेरो पेट भतभत पोलिरहेको थियो। पेट चिरिएर टाँका लगाइएको अवस्थामा थियो। त्यतिबेला म खुब पछुताएँ। म यस्तो अवस्थामा बाँच्नुभन्दा मरेकै जाति हुन्थ्यो। म मर्दामर्दै बाचेँ, म जिउँदै रहेँ।
त्यो घटनाको बारेमा पछि मात्र थाहा पाएँ। म फोनमा बोल्दै आएको साथीले फोन काटिनछ र सबै घटना प्रत्यक्ष सुनिछ। उसले नै प्रहरीकोमा फोन गरीदिइछ। घटना भएको केही समयपछि घटनास्थलमा प्रहरी आइपुगेछ र तिनै प्रहरीले नै हस्पिटलसम्म ल्याएका रहेछन्।
साथीले फोनमा सुनाएकी थिइ। तिमीहरुले त मलाई मरी भनेर छोडेका रहेछौ। मारेर छोडेका रहेछौ। म त्यतिबेला नै मर्नुपर्थ्यो। कमसे कम मेरो एउटा इतिहास रचिने थियो ‘मेरो प्रेमी आयुषले मलाई छुरा हानेर मारिदियो’ भनेर। कमसेकम मलाई माया गर्ने मान्छेको हातबाट मृत्युवरण गर्न त पाउँथेँ। म त्यसो हुनबाट चुकेँ। अहिले पश्चाताप लागिहेछ।
त्यही साथीले भनेकी थिइ, मलाई ‘मरीसकी छोडिदे’ भनेर साथीले भनेपश्चात ‘भाग्यो भाग्यो’ भन्दै दौडिएका रहेछौ। मेरो अनुमानमा त्यो भाग्दै मेरो सामु आएको मान्छे त्यहाँबाट फेरि भागेको हुनुपर्छ र तिमीहरु त्यसलाई पछ्याउँदै गरेको हुनुपर्छ।
म होसमा आएपनि मेरो अवस्था आशलाग्दो थिएन। डाक्टरहरुले नै आश गर्न सकेका थिएनन्। म होसमा आएको भोलिपल्ट म झनै जटिल अवस्थातर्फ पुगेछु। त्यो देखेपछि डाक्टरहरु नै आत्तिए। बुबालाई बोलाएर कोठा बाहिर लगे।
मैले कान थापेर सुनिरहेकी थिएँ। डाक्टरले बुबालाई अर्थाए, छोरीको अवस्था एकदमै नाजुक छ, छोरी बाँचेर घर फर्कने सम्भावना एकदमै कम छ। छोरीलाई सोध्नुहोस्, उनले कसैलाई देख्न भेट्न मन लागेको छ भने बोलाइदिनुहोस्, भेट गराइदिनुहोस्।
बुबा मसँग आएर त्यही कुरा सोध्नुभयो। मैले तिम्रै नाम लिएँ।
मलाई मन थियो, मलाई छुरा हान्न सक्ने मेरो प्रियतमको अनुहार हेरेर अन्तिम श्वास फेर्ने, तर तिमी आएनौ। बरु आयुष घरमा छैन भन्ने खबर मसम्म आइपुग्यो। सायद, तिमी घटना भएको दिनदेखि भागेको हुनुपर्छ। यदि घरमै भएको भए पनि तिमी आउने थिएनौ होला। मेरो अघि उभिने सामर्थ्य थिएन होला। हुन त आफ्नै प्रेमिकालाई छुरा हान्न सक्ने तिमीलाई खिस्स दाँत देखाएर मेरो अगाडि उभिन आउनु पनि खासै ठूलो कुरा थिएन।
सायद, तिमी घरमा छैनौ भन्ने खबर आएको भोलिपल्ट हुनुपर्छ। घटनाको अनुसन्धान गर्न खटिएको एक टोली मलाई भेट्न अस्पतालमा आइपुग्यो र सोधपुछ गर्यो। उनीहरुले घटनास्थलमा भेटिएको घडी पनि साथमै ल्याएका थिए। त्यो घडी एक महिनाअघि मैले तिम्रो बर्थडेमा गिफ्ट दिएको घडी थियो। मलाई त्यो देख्नासाथ भक्कानो छुटेर आयो। म उनीहरुको अघि नै रोइदिएँ।
एकछिनपछि केही सम्हालिएर सोचेँ। मेरो दिमागमा तिम्रो अनुहारले पटक पटक झम्टिरह्यो, मलाई त्यतिबेला पनि तिम्रै यादले सताइरह्यो। आफ्नो त्यस्तो अवस्था हुँदा पनि मलाई छुरा हान्ने मान्छेको माया लागेर आयो। अनुसन्धान गर्ने मान्छेहरुले धेरै बेरसम्म शंका लागेको व्यक्ति कोही छन् की भनेर पटक–पटक सोधिरहे। अहँ, मैले तिम्रो नाम पटक्कै उच्चारण गर्न सकिनँ।
सोचेँ, मलाई त डाक्टरले नै बाच्ने आश मारेका थिए, आफन्तहरुले त झनै अन्तिम इच्छा के छ भनेर सोधिरहेका थिए। म आफूलाई पनि बाँच्छु भन्ने लागेकै थिएन। आखिर म नै यो संसारमा रहदिनँ भने तिमीलाई किन जेलमा सडाएर जाउँ! किन बन्धनमा बाँधेर जाउँ!
मेरो जिन्दगी बर्बाद गरीदियौ भनेर त्यसको बदलामा मैले किन तिम्रो जिन्दगी बर्बाद गरीदिउँ। अहँ, म तिमीजस्तो निर्दयी हुन सकिनँ। मैले तिनीहरुलाई तिम्रो नाम नभनेरै फर्काइदिएँ।
तिनीहरु फर्किएपछि मलाई झनै नमज्जा लाग्यो। म फेरि भक्कानिएर रोएकी थिएँ। आफैलाई आक्रमण गर्ने मान्छेको माया किन यति धेरै लागेको होला? आफैसँग प्रश्न गर्न मन लाग्यो। आफैलाई चिथोर्न मन लाग्यो।
आज घटना भएको पन्ध्र दिन भएछ। सबैले बाच्ने आशा मारेका मलाई डाक्टरले चलाएको औषधिका ट्याबलेटहरुले काम गर्न थाल्यो, आफै सकिएर भएपनि स्लाइनहरुले मेरा आयु थपिरहे। म मरेर पनि बाँच्दै गएँ। मेरो स्वास्थ्यमा केही सुधार आउने संकेत देखापरेको छ।
आज फेरि अनायासै तिमीलाई सम्झिएँ। त्यसैले कुरुवा कोही नभएको मौका पारेर, नर्ससँग कापी कलम मागेर केही शब्दहरु कोर्ने प्रयास गरेँ।
थाहा छैन, तिमी कहाँ छौ। थाहा छैन, तिम्रो ठेगाना, तिम्रो फोन त धेरै दिनदेखि अफ नै छ। मैले यी शब्दहरु किन लेख्दैछु! तिमी त हराइरहेको मान्छे। यो तिमीले पाउने सम्भावना नै रहेन।
सायद, तिमी त आफूलाई लुकाउने ध्याउन्नमा भौतारिइरहेको हौला। हुनसक्छ, तिमीलाई त म बाँचेको थाहा नै छैन होला। तिमी प्रहरीको नजरमा त लुक्न सकौला तर मेरो आँखामा कहिल्यै लुक्न सक्ने छैनौ। तिमी कति दिन भाग्न सक्छौ होला? एक न एक दिन त अवश्य पश्चातापको बाढीले हुत्याएर तिमीलाई मेरो अगाडि नै ल्याइपुर्याउनेमा म ढुक्क छु।
आयुष,
आज घटना भएको एक महिना बितेछ। अहिले मेरो स्वास्थ्यमा राम्रो सुधार आएको छ। अब बाँच्ने निश्चित जस्तै भएको छ। यस अर्थमा म नयाँ जीवन लिएर धर्तीमा उभिने भएकी छु।
आयुष, हिजो मलाई पत्रिका पढ्न मन भएर बुबासँग पत्रिका मगाएकी थिएँ। त्यही पत्रिका पढ्दै जाँदा ‘छुरा प्रहार गरी फरार अभियुक्त पक्राउ’ शिर्षकमा छापिएको समाचारमा नजर पुग्यो। समाचार छापिएको फोटो देखेपछि म तीनछक परेँ।
प्रहरीले त जसले छुरा प्रहार गरे उसलाई होइन, जो छुरा प्रहारबाट ज्यान जोगाउन भाग्दै गरेको थियो, उसैलाई अभियुक्त बनाएर पक्राउ गरेको रहेछ। ऊ निर्दोष मान्छेलाई हत्कडी लगाइएको थियो।
समाचार पढ्दै गएँ। त्यसमा तिमीहरु त प्रत्यक्षदर्शी भएर बयान दिएका रहेछौ। तिमीले भनेका रहेछौ। ‘त्यो घटना मैले प्रत्यक्ष देखेको हुँ। त्यो मान्छे छुरा लिएर दौडिँदै आयो र मैले चिच्याउँदा–चिच्याउँदै, प्रतिकार गर्दा–गर्दै मेरी प्रेमिकालाई पेटमा छुरा प्रहार गरेर भाग्यो।’
अहो! कस्तो अपत्यारिलो झुट? मलाई एकाएक चक्कर लागेजस्तो भयो। मैले त्यो समाचार पढेर पूरा गर्नै सकिनँ।
घटना भएको बेला घटनास्थलमा प्रहरी पुग्दा तिमीहरु नै थिएनौ, त्यहाँबाट भागिसकेका थियौ भने कसरी तिमीहरु घटनाको प्रत्यक्षदर्शी हौ भनेर विश्वास गरे अनुसन्धान गर्ने मान्छेहरुले? के हेरेर अनुसन्धान गरे र जो आफ्नो ज्यान बचाउन भाग्दै गरेको मान्छे समातिन पुग्यो?
पक्कै पनि तिमीहरुले कुनै प्रलोभन देखाएर जोगिएको हुनुपर्छ। अनुसन्धानकर्ताहरुलाई तिम्रो नाम नबताएकोमा म आफैलाई घृणा जाग्यो। आफ्नै अनुहारमा थुकिदिन मन लाग्यो।
आयुष, एक निर्दोष मान्छेलाई दोषी साबित गरेर तिमी कति दिन निर्दोष देखिन्छौ? हुन त आफ्नै प्रेमिकालाई छुरा प्रहार गर्न सक्ने तिमीलाई यी कुराहरु सामान्य नै रहे। तर अहँ, मैले पटक्कै सहन सकिनँ। एउटा निर्दोष मान्छे जेल परेर मुख्य दोषी छाती फुलाउँदै हिँडेको मैले देख्न नसक्ने भएँ।
अहिले तिम्रो अनुहार सम्झदा रगतले लत्पतिएको देखिरहेछु। तिमीलाई मैले यति कुरुप देखिरहेकी छु कि म शब्दमा बयान गर्न सक्दिनँ। मैले साँझ बिहान कुनै हत्याराको अनुहार हेरेर बिताउन सक्दिनँ। तिमीजस्ता पिशाचहरुलाई उन्मुक्ति दिनु पनि अपराध गर्नु सरह हो।
के थाहा! भोलि यही समाजमा अरु कसैले पनि ज्यान गुमाउन सक्छन्। तिमी त यो समाजको क्यान्सर हौ। क्यान्सरको उपचार समयमै भएन भने मान्छे मर्छ। तिमीलाई पनि छिट्टै उपचारको खाँचो छ, अन्यथा भोलि हामीले बाँचिरहेको समाज नै ध्वस्त हुनसक्छ।
त्यसैले अहिले भर्खरै प्रहरी चौकी गएर सबै वृतान्त सुनाउनेछु। तिम्रो नाममा किटानी जाहेरी दिनेछु। त्यो निर्दोष मान्छेलाई न्याय दिलाउनेछु। बरु तिम्रा अन्तिम इच्छाहरु केही छन् भने पूरा गरीहाल। यतिबेला तिम्रो अन्तिम समय चलिरहेछ।
***
कुनै कथाको किताबमा छापिएको ‘बेड नम्बर १३६’ शिर्षकको कथा भर्खरै पढिसक्काएँ। कथा केही फरक लाग्यो। तर मनमा केही प्रश्नहरु उठे।
कथा किन अधुरै छोड्नुभयो? के आयुष समातिएर जेल गयो? निर्दोष भनिएको व्यक्ति छुट्यो त? के अस्पतालको बेडमा छटपटाइरहेको बिरामीले पनि यस्तो लेख्न सक्छन्। अनि यो जमानामा पनि त्यस्ता मान्छेहरु हुन्छन्जो आफैलाई छुरा हान्नेलाई बचाउछन्।
एकैछिनमा आफ्नै मनले जवाफ दियो, यो त कथा हो। कथालाई कथाकै रुपमा हेरिनुपर्छ। वास्तविकतासँग तुलना गर्नु हुँदैन।
किताब पढिसकेर अरु किताबकै चाङमा थुपारीदिएँ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३