निर्वाचन आयोगले तोकिएको समयभित्र चुनावी खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गरेको छ । गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी भई कानुनले तोकेको समयभित्र निर्वाचन खर्चको विवरण पेस नगर्ने उम्मेदवारलाई आयोगले कारबाही गरेको हो ।
गएको निर्वाचनमा प्रतिनिधि सभातर्फका २३७४ जना र प्रदेश सभातर्फका ३१८८ जना समेत जम्मा ५५६२ जना उम्मेदवारहरू रहेका थिए । उनीहरुलाई निर्वाचन खर्चको विवरण सार्वजनिक गरेको लिखित जानकारी आफू उम्मेदवार रहेको प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा गराउन निर्देशन दिइएको थियो ।
तर, तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १०३७ जना र प्रदेश सभातर्फका १३९८ जना समेत जम्मा २४३५ जना उम्मेदवारहरूलाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय भएको छ ।
जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजस्व दाखिला गरी सोको भौचर सहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न आयोगले भनेको छ । यसका साथै निर्वाचन खर्चको विवरण सात दिनभित्र सार्वजनिक गरी सो को जानकारी सम्बन्धित निर्वाचन कार्यालयमा सात दिनभित्र निवेदनसहित पेस गर्न पुनः आदेश दिने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै, जरिवाना बापतको रकम तोकिएको समयभित्र नबुझाउने उम्मेदवारहरूलाई तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना बापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउने आयोगले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३