प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नतृत्वको सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा अभियान अघि बढाएको बताएका छन् ।
गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा इटालीको रोममा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार र बेथितीविरुद्ध सरकारले कडा कदम चालेको बताए । आगामी दिनमा थप केही ठूला भ्रष्टाचार काण्डका फाइल खोलिने उनको भनाइ थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहित विपरित र सङ्गठित अपराधका रुपमा काम भएको देखिएकाले सरकारले उक्त कदम चालेको बताए । सरकारले फोहोर सफा गर्न उक्त कदम चालेको उनको भनाइ थियो ।
यस्तै ललिता निवास प्रकरणको छानविनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम सुरु भएको प्रधानमन्त्रीले बताए । राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता गराउने अभियान ललिता निवासबाट सुरु गरिएको उनले उल्लेख गरे । यस्तै देशभर माफियागिरीको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको अभियान अघि बढेको उनले जनाए ।
वर्षौंदेखि थुप्रिएको बेथिती र विसङ्गतीको चाङ रातारात एक जनाले चाहँदैमा अन्त्य नहुने भन्दै उनले विकृति र विसङ्गिति अन्त्यका लागि आफूले थालेको अभियानमा सहयोग गर्न सम्पूर्ण नेपालीको साथ चाहिएको बताए ।
उनले जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको जानकारी दिँदै अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई पनि वर्तमान सरकारले सही ट्र्याकमा ल्याएको बताए ।
आफूले यसपटक प्रधानमन्त्री हुँदा देश र जनताका लागि केही गर्नुपर्छ भन्ने सङ्कल्प लिएको उल्लेख गर्दै उनले सोही सङ्कल्पअनुसार मुलुकको अवस्था बदल्न लागि परेको बताए । ‘जसले परिवर्तन ल्याउन लड्यो, त्यही पार्टी, विचार र नेतालाई चिन्ता हुन्छ,’ उनले भने, ‘यो परिवर्तनले जनतालाई राम्रो गर्यो कि गरेन । यो पटक मैले प्रधानमन्त्रीको जिम्मेवारी लिँदा गरेको सङ्कल्प त्यही नै हो ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३