सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ ।
सम्भवतः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार जनमतबाट मनत्री नियुक्त गर्ने तयारी गरेका छन् । सत्तारुढ गठबन्धनबीच हाल माओवादी केन्द्रले सम्हालेको कोटाबाट जनमतलाई मन्त्री बनाउने सहमति असार अन्तिम साता नै भएको थियो । माओवादीबाट हाल ६ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी छन् ।
जनमत पार्टीले मन्त्रीमा अनितादेवी साहको नाम २६ असारमै प्रधानमन्त्री प्रचण्डलाई बुझाएको थियो । तर, २७ असारको बिहानै प्रधानमन्त्री पत्नी सीताको निधन भएपछि साह मन्त्रीमा नियुक्त हुन सकेकी थिइनन् । जनमत सरकारमा आउने भएपछि माओवादीका दुई मध्ये एक मन्त्रीलाई बिदाई गर्ने तयारीमा प्रधानमन्त्री छन् । संघीय मामिलामन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीमध्ये एकलाई हटाउने तयारी रहेको बालुवाटार श्रोतले जनाएको छ ।
मोदी र किराँती दुवैको कार्यशैलीप्रति प्रधानमन्त्री प्रचण्ड सुरुदेखि नै सन्तुष्ट छैनन् । मोदीले आफूलाई मन्त्री नदिए पार्टी छाड्ने धम्की दिएर पद हात पारेका थिए । उनीमाथि कर्मचारी सरुवामा आर्थिक चलखेल गर्ने गरेको आरोप लाग्दै आएको छ । कर्मचारी वृत्तबाटै पटकपटक सरुवामा चलखेल गरेको र मन्त्रीको मर्यादा नराखी बोल्ने गरेको गुनासो सुनेपछि प्रधानमन्त्री मोदीलाई हटाउने मनस्थितिमा थिए ।
तर, हटाउने भनिएकै दिन पत्नीको निधन भएकाले तत्कालका लागि उनको पद जोगिएको थियो । किराँतीले पनि काम भन्दा हल्ला बढी गरेको निस्कर्ष बालुवाटारको छ । तर, मोदीको जसरी आर्थिक चलखेलमा किराँतीको नाम मुछिएको छैन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३