सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ ।
पानीको सतह घटाउन ब्यारेजका सबै ढोका खोलिएपनि नदीको बहाव भने अझै उच्च छ । कोशीको पानी अझैपनि ब्यारेज पुलको तल्लो भागलाई छोएर बगिरहेको छ । पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख क्युसेक प्रतिसेकेण्ड रहेको छ । अझैपनि ब्यारेजका सबै ढोका खुला रहेको छ । बिहानको समयमा पानीको बहाव ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक प्रतिसेकेण्डसम्म पुगेको र बहावमा उतारचढाव जारी रहेकाले पूर्ण शतर्कता अपनाइएको सुनसरी प्रशासनले जनाएको छ । प्रशासनले उच्च बहावसँगै खोलिएका ब्यारेजका ५६ ढोकाको अवस्था हेरेर क्रमशः बन्द गरिने जनाएको छ । उता कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार पछिल्लो पटकको ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक पानी अहिलेसम्मकै तेस्रो उच्च बहाव हो । यसअघि ब्यारेजमा कोशी नदीको बहाव सन् १९६८ मा सबैभन्दा बढी ७ लाख क्युसेक मापन भएको थियो । १९८९ मा भने पानीको बहाव ४ लाख ७२ हजार क्युसेक रेकर्ड गरिएको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।
नदीको बहाव उच्च हुँदा ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ भने यो चौथो पटक खोलिएको हो । यसअघि २०१९ मा बालुवा थुप्रिएर पुलमा खतरा बढेपछि सो बेला समेत पुलका सबै ढोका खोलिएको थियो ।
यसैबीच नदीको बढ्दो जलसतहसँगै सुनसरी प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ । सुरक्षाका सबै निकायलाई अलर्टमा राखिएको जनाएको प्रशासनले नदीले कटान र क्षति नपुर्याए पनि जोखिम भने कायम रहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सबै संयन्त्र तयारी अवस्था राखिएको बताउँदै सम्भावित जोखिम क्षेत्रलाई निगरानीमा राखी निरन्तर अनुगमन जारी रहेको बताएकी छिन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३