पछिल्लो समय बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ पर्नेहरूको सङ्ख्या बढ्दो छ । काठमाडौं जिल्लाको मात्रै तथ्यांक हेर्दा पनि एक महिनामै पाँच सय भन्दा बढी बैंकिङ कसुरका मुद्दा दायर भएको देखिन्छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालू आर्थिक वर्षको पहिलो साउन महिनामा काठमाडौंमा मात्रै ५६० वटा मुद्दा दायर भएका छन् । गत आवको सोही अवधिमा यस्ता मुद्दाको सङ्ख्या ५१६ रहेको थियो ।
यस मुद्दामा पक्राउ पर्ने भन्दा फरार हुनेको सङ्ख्या धेरै रहेको छ । साउन महिनामा बैंकिङ कसुरमा २१२ जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य फरार सूचीमा रहेका छन् । गत आवको सोही अवधिमा यस्ता मुद्दामा ८१ जना पक्राउ परेका थिए ।
गत साउन महिनामा विभिन्न अपराधमा एक हजार २७५ वटा मुद्दा दर्ता भएका छन् । जसमा ७६० जना पक्राउ परेका छन् । यसमध्ये पनि सबैभन्दा बढी बैंकिङ कसुरका रहेका छन् । गत आवको सोही अवधिमा एक हजार ४७ वटा मुद्दा दर्ता भएकोमा ७४१ जना पक्राउ परेका थिए ।
त्यस्तै, चालू आवको साउनमा जिल्ला प्रहरी परिसर काठमाडौंमा ३५ वटा ठगिएका मुद्दा दर्ता भएका छन् भने ५५ वटा चोरी सम्बन्धीका रहेका छन् । जुवा सम्बन्धी १७ वटा मुद्दा दर्ता भएका छन् । जसमा ११३ जना पक्राउ परेका छन् ।
अनलाइन सपिङबाटै बढ्यो ठगी
काठमाडौंमा अनलाइन ‘सपिङ’ मार्फत ठगी गरेका घटना बढ्दो क्रममा रहेको पाइएको छ । प्रहरीकोमा पुगेको उजुरी हेर्दा गत साउन महिनामा मात्रै अनलाइनमा सामान तथा सेवा खरिद बिक्री गर्दा ठगी गरेको आरोपमा ११ वटा मुद्दा दर्ता भएका छन् । जसमा दुई लाख ७५ हजार रुपैयाँ ठगिएको उजुरीमा उल्लेख छ । गत आवको सोही अवधिमा यस्ता मुद्दा ७ वटा परेका थिए । जसमा एक लाख १८ हजार पाँच सय ठगी भएको थियो ।
त्यस्तै, गत साउन महिनामा वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३९ लाख ४३ हजार रुपैयाँ ठगी भएको छ । यस अवधिमा पार्सल तथा डलर कर बापतको रकम जम्मा गर्न लगाई २१ लख ७२ हजार ४६०, बैंक खातामा अनधिकृत पहुँच पुर्याइ एक लाख ५३ हजार रकम चोरी, सामाजिक सञ्जालमा पहुँच पुर्याइ ५० हजार, रकम डबल हुन्छ भन्दै ९० हजार पाँच सय रुपैयाँ ठगी भएको प्रहरीले जनाएको छ ।
चालू आवको साउन महिनामा ६५ जनाले ८७ लाख ६ हजार ८१० रुपैयाँ ठगी भएको भन्दै प्रहरी गुहारेका छन् । यसरी नै ठगीमा परेको भन्दै गत आवको साउनमा ४८ जनाले ६३ लाख ३५ हजार ९९० रुपैयाँ बराबरको उजुरी प्रहरीकोमा दिएका थिए ।
एक महिनामै २२ सय बढी मोबाइल हराए
एक महिनामै दुई हजार दुई सय भन्दा बढी मोबाइल फोन हराएका छन् । काठमाडौंमै चालू आवको साउन महिनामा दुई हजार दुई सय ८७ वटा मोबाइल फोन हराएका हुन् । जसमा ३९७ वटा फेला परेका छन् भने एक हजार ८९१ फेला पर्न बाँकी रहेको छ ।
गत आवको साउन महिनामा एक हजार ६१२ वटा मोबाइल फोन हराएका थिए । जसमा ९० वटा फेला पारेर प्रहरीले सम्बन्धित धनीलाई दिएको थियो भने एक हजार ५२२ वटा फेला नपरेको प्रहरीले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३