भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मेट्रो रेल निर्माणका बिषयमा रसियन पक्षसँग छलफल गरेका छन् । सोमवार नेपालका लागि रसियन राजदूत अलेक्सी नोमिकोसहितको टोलीसँग मेट्रो रेल, सडक, सुरुङ मार्ग र रेलका बिषयमा छलफल भएको मन्त्रालयका सहसचिव अर्जुन थापाले बताए ।
रसियन मस्को मेट्रो रेल विश्व प्रख्यात मानिन्छ । रसियाको सहयोगमा विश्वका धेरै देशले मेट्रो रेल सञ्चालन गरेका छन् । भारतका विभिन्न ठाउँमा पनि रसियन मेट्रो रेल नै सञ्चालन हुँदै आएको छ ।
मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा मेट्रो रेल र पूर्वपश्चिम रेलका बिषयमा छलफल गरेका हुन् । केही समयमै रुसी संसदका अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन नेपाल भ्रमणमा आउँदैछन् । उनको भ्रमणअघि मेट्रो पूर्वपश्चिम रेलमार्ग र भौतिक पूर्वाधारका बिषयमा छलफल गर्न रसियन टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको थियो ।
छलफलमा मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा सञ्चालन गर्नेगरी मेट्रो रेलको प्रस्ताव गरेका थिए । ‘मेट्रो, पूर्वपश्चिम रेल, सुरुङ मार्गलगायतका बिषयमा छलफल भयो’ मन्त्रालयका सचिव केशव शर्माले बतए ।
जवाफमा रसियनपक्षले मेट्रो रेल निर्माणका लागि रसियन रेल्वे कम्पनी तयार रहेको बताएका थिए । त्यसका लागि ठोस प्रस्ताव समेत उनीहरुले मागेका छन् ।
रसियन पक्षले पोखरा–रिडी सडकका बिषयमा पनि चासो देखाएका छन् । उनीहरुको चासोलाई मन्त्रालयले प्राथमिकतामा राखेको सहसचिव थापाले बताए ।
छलफलका क्रममा मन्त्री ज्वालाले नेपालका सयौ इन्जिनियरहरुले रुसबाट तालिम र शिक्षा लिएको र उनीहरुको दक्षताले नेपाललाई सहयोग पुगेको बताएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३