काठमाडौं महानगरपालिका क्षेत्रभित्रका व्यवसायिक, बहुतले र आवासीय भवनहरूलाई सेवाग्राहीबाट पार्किङ शुल्क नलिन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ। कम्प्लेक्स डेभलपर लिजर एसोसिएसनले महानगरको निःशुल्क पार्किङ सम्बन्धी व्यवस्था कार्यान्वयन नगर्न माग गर्दै दिएको निवेदनमा अदालतले यस्तो आदेश दिएको हो।
साउन ३० गतेको अन्तरिम आदेशमा, महानगरपालिकाको आर्थिक ऐन २०८० को दफा १२ को उपदफा (४) लाई उद्धृत गरिएको छ। आदेशमा भनिएको छ, ‘बहुतले, आवासीय वा व्यावसायिक भवनहरूमा रहेको व्यवसाय र सेवासम्बद्ध सेवाग्राहीले सेवा लिएको प्रमाणका आधारमा सवारीसाधन पार्किङबापतको शुल्क तिर्नुपर्ने छैन’ भन्ने प्रावधान रहेको देखिँदा सेवा सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङबापतको शुृल्क लिन नपाइने भएकोले सो प्रावधानको अनिवार्य रुपमा कार्यान्वयन गर्नु गराउनु निवेदक र विपक्षी काठमाडौं महानगरपालिकाको कर्तव्य हुन आउने देखिन आउँछ।’ यसबाट निःशुल्क पार्किङ सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न गराउन एसोसिएसनले दायित्व पूरा गर्नुपर्ने भएको छ। यस्तै महानगरपालिकालाई व्यवस्था कार्यान्वयनको अनुगमन गर्ने बाटो खुलेको छ ।
काठमाडौं महानगरपालिकाले नगर सभाको १३औँ अधिवेशनबाट पारित गरेको आर्थिक ऐन २०८० मा पार्किङ सम्बन्धी व्यवस्था गरेको छ। ऐनका दफा १२ सँग सम्बन्धित अनुसूचीमा पार्किङसम्बन्धी व्यवस्थालाई स्पष्ट पारेको छ।
ऐनमा उल्लेख भएको व्यवस्था कार्यान्वयन गराउन महानगरपालिकाले साउन ८ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो। सूचनामा बहुतले आवासीय वा व्यावसायिक भवनहरूमा रहेका/भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ वापतको शुल्क संकलन नगर्न आग्रह गरिएको थियो।
शुल्क लिन पाइने भनेर तोकिएका ठाउँमा पनि सवारी साधनको प्रकृति र पार्किङ गरिएको समयका आधारमा तोकिएको शुल्क लिन सकिनेछ। यसमा पनि अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्ने सवारी साधनहरूलाई पार्किङ शुल्क लाग्दैन। यस्तै आपतकालीन सेवाका सवारी साधन र महानगरपालिकाले तोकेको अन्य सवारी साधनलाई निःशुल्क पार्किङको व्यवस्था हुनेछ।
अदालतमा एसोसिएसनले दिको निवेदनमा महानगरपालिकाकातर्फबाट कानुनी सल्लाहकार डिना श्रेष्ठले बहस गरेका थिए। निवेदकका तर्फबाट अधिवक्ताहरू शम्भु थापा, मेघराज पोखरेल, ईश्वर अधिकारी र करुणाकर मल्लिकले बहस गरेका थिए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३