काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पत्नी सबिना काफ्ले सवार गाडी ट्राफिक प्रहरीले जम्मा ३० देखि ४५ सेकेण्ड मात्र होल्ड गराएको खुलासा भएको छ ।
शनिबार राति नियमित सुरक्षा जाँचका क्रममा प्रहरीले कोटेश्वर चोकमा सरकारी नम्बर प्लेटको बालेन पत्नी सवार महानगरपालिको गाडी रोकेर सोधपुछ गरेको थियो ।
सातदोबाटोतर्फबाट हुइिँकिएर आएको उक्त गाडीभन्दा अगाडि अरु दुई/तीनवटा गाडी चेकजाँचका लागि रोकिएका थिए । चेकजाँचमा रोकिएकामा चालकले आपत्ति जनाएका थिए ।
चेकिङमा खटिएका ड्युटी इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) सुशील न्यौपानेले बिदाको दिन जिल्ला प्रशासन कार्यालयले जारी गर्ने सवारी पास मागेका थिए । तर, मेयरको गाडी भन्दै चालकले पास नचाहिने बताए ।
न्यौपानेले काठमाडाैँमा धेरै नगरपालिका छन्, कुन नगरपालिकोको मेयरको गाडी हो भनेर सोधेपछि चालक रिसाउँदै काठमाडाैँको मेयर साबको हो । गाडीमा हुनुहुने मेयरसाबको म्याम हो भन्ने जवाफ दिए । सई न्यौपानेले मेयर साबको म्याम भए पनि बिदाका दिन सवारी पास चाहिने भन्दै अबदेखि पास लिएर हिंड्न सुझाव दिएका थिए ।
‘सुशील न्यौपाने नामजस्तै भद्र र शालीन प्रहरी हो । उहाँले नम्र स्वरमा बलेनजी विधि प्रक्रिया बुझेकै मान्छे हुनुहुन्छ । अबदेखि बिदाका दिन पास लिएर हिंड्नुहुला है भन्नुभएको रहेछ’, ट्राफिक प्रहरीका एक उच्च अधिकृतले भने, ‘त्यति भन्न जम्मा ३० देखि ४५ सेकेण्ड मात्र लागेको थियो रे, गाडी घरमा पुगेपछि बालेनको स्टाटस आयो ।’
बालेनले आफ्नी श्रीमती सवार गाडी रोकिएको झोकमा सामाजिक सञ्जालमा महानगरको गाडी रोकिए सिंहदरबार जलाउने धम्की दिएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३