२०८० मंसिर २५, सोमबार
राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन) को सातौ महाधिवेशनमा भएको सहमती अनुरुप सह अध्यक्ष सुवास न्यौपानेले नेशनल प्याब्सनको केन्द्रीय अध्यक्ष पदको पदवहाली गरेका छन् । सातौ महाधिवेशनमा भएको सहमति अनुरुप न्यौपाने पछिल्लो आधा कार्यकाल अध्यक्ष हुने गरी सह अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए ।
आज राजधानीमा आयोजित कार्यक्रममा न्यौपानेले अध्यक्ष पदमा बहाली गर्दै नेशनल प्याब्सनलाई नीजि विद्यालयहरुको पेशागत र संस्थागत हकहित संरक्षण साथै विद्यालय शिक्षामा देखिएका समस्या समाधान गरी अघि बढ्न अथक प्रयास गर्ने बताए । उनले यसअघि भएको सहमति र प्रतिवद्धतालाई पालना गर्दै एकतावद्ध भएर अघि बढ्ने, संस्थामा अब कुनै गुट र पक्ष विपक्ष नरहने, प्याब्सनको कार्यालय भवन बनाउन पाच लाख रुपैया दिने तथा सबैको साथ एवम सहयोग लिएर काम गर्ने विश्वास दिलाए । अध्यक्ष न्यौपाने शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदानलाई राज्यले बेवास्ता गर्न नमिल्ने भन्दै विभेदकारी कानुन र नीति नल्याउन सरकारसँग माग गरे ।
सो अवसरमा अध्यक्ष न्यौपानेले आफ्नो पदको गोपनीयताको शपथ लिएका थिए । यसैगरी अध्यक्ष न्यौपानेसहितका पदाधिकारीले आजै कार्यालय पुगेर कार्यभार समेत सम्हालेको जनाइएको छ ।
सो सङ्गठनको २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न पहिलो १८ महिना पाण्डव हमाल र दोस्रो १८ महिना न्यौपाने अध्यक्ष हुनेगरी सहमति भएको थियो । हमालको कार्यकाल गत भदौ २४ गतेदेखि सकिएको थियो ।
कार्यक्रममा नेशनल प्याब्सनका पूर्वअध्यक्ष वसन्तबहादुर श्रेष्ठ, कर्णबहादुर शाही, प्याब्सनका अध्यक्ष डिके ढुङ्गाना, अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी, निजी विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले कार्यकाल सफलताको कामना गरेका थिए ।
युनिभर्सिटी अफ एप्लाईड रिसर्च एण्ड डेभलपमेण्ट न्यूजिल्याण्डबाट दुई वर्षे अन्तराष्ट्रिय कार्यक्रम अन्र्तगत शैक्षिक नेतृत्व र व्यवस्थापनमा स्नातकोत्तर सुवास न्यौपाने त्रिभुवन विश्वविद्यालयबाट कला संकाय अन्र्तगत मानव तथा समाजशास्त्र विषय (दुई वर्षे) मा स्नातकोत्तर तथा तीन वर्षेमा स्नातक गरेका छन् ।
हाल एपेक्स लाईफ स्कुल सरस्वतीनगर, काठमाण्डौँका अध्यक्ष न्यौपाने यसअघि सो स्कूलका निर्देशक थिए भने स्टयाण्डफोर्ड इन्टरनेशनल स्कुल भक्तपुरका प्रिन्सीपलका रुपमा समेत काम गरिसकेका छन् । एन प्याब्सन काठमाण्डौँ जिल्ला समितिको उपाध्यक्ष, जिल्ला अध्यक्ष, एन प्याब्सन केन्द्रीय समितिको सचिव, महासचिव हुँदै गत निर्वाचनबाट सहअध्यक्षमा निर्वाचित भएका न्यौपानेले हाल संस्थाको नेतृत्व सम्हालेका हुन् ।
मुलुकको शैक्षिक विकास र उन्नतिमा आफूलाई समर्पित गरेर संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको विकासमा योगदान पुर्याउन न्यौपानेले खासगरी शैक्षिक क्षेत्रको नीतिगत, कानुनी र संस्थागत विकासमा आफूलाई निरन्तर उभ्याउँदै आएका छन् ।
विद्यालय तहको पठनपाठन नै मुलुकको शैक्षिक विकासको जग भएकाले लामो समय यसैमा आफू पठनपाठन, व्यवस्थापनदेखि यसका पेशागत संघसंस्थामा आवद्ध रही शैक्षिक जागरण, आन्दोलन र क्रियाकलापमा न्यौपाने सदैव प्रत्यक्ष परोक्ष संलग्न रहेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३