कला संस्कृतिले भरिएको देश नेपाल । विभिन्न जातजाति समुदायका बेग्लै पहिचान, रीति–रिवाज, संस्कृति र परम्परा छ । विविधता छ तर त्यसबीच पनि एकता छ । यस्तै विविधता, विशेषता र मर्मले युक्त छ तामाङ समुदाय र सिंगो बौद्ध धर्मलम्बीहरुको महान पर्व तेमाल जात्रा ।
प्रत्येक वर्षको चैत पूर्णिमाको दिन हुने तेमाल जात्रालाई तामाङ समुदायले ल्होछारपछिको ठूलो साँस्कृतिक पर्वको रुपमा मनाउँदै आएको छ । विशेष गरी तेमाल जात्रालाई बौद्ध धर्म संस्कारसंग जोडिएको पर्वको रुपमा लिइन्छ । तेमाल जात्राका लागि तामाङ समुदायका मानिसहरू यम्बुला (काठमाडौँ) को ज्यारूङ खस्योर (बौद्ध) र सिङ्गुन (स्वयम्भू) मा भेला हुन्छन् ।
चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्धमा आफ्ना दिवङ्गत बुबाआमा तथा पितृजनका नाममा ङोवा मोन्लम पाठ गराई नाङ्साल म्हारमेन (बत्ति) बाल्दछन् साथै बौद्ध छ्योर्तेन र स्वयम्भूको कोरोवा (घुम्ने) पनि गर्दछन् । त्यसो गर्नाले मृतकका चित्तले मुक्ति पाउने र सुखावती भुवनमा बास पाउँछ भन्ने विश्वास रहेको पाइन्छ । त्यस्तो ङोवा मोन्लम (पूजापाठ) गर्दा आफ्नो गच्छेनुसार लामालाई दान गर्ने, छोक (प्रसाद) चढाउने जस्ता कार्य गर्दछन् । उक्त कार्य गर्दा सकेसम्म नुन बार्ने धार्मिक चलन पनि रहेको छ । आफन्तजनको निधन हुँदा नुन बार्ने चलन भएकोले सोही दिन छाक (सुद्ध) बस्नुपर्ने संस्कार बौद्ध धर्मभित्र रहेको छ ।
जात्रा भनिनुको कारण
हरेक पर्वको आफ्नै विधि र संस्कार हुन्छन् । जात्रा भन्ने बित्तिकै उत्साव वा रमाइलो क्षणलाई बुझिन्छ । तेमाल जात्रा भने फरक तरिकले बुझ्न आवश्यक छ । टाढा टाढाबाट आउने भक्तजन तथा श्रद्र्धालुहरु दिनभर दिवङ्गत आफन्तजनको सम्झनामा पूजापाठ गराएपछि घर फर्किन सकिदैनन् । त्यसैले स्तूप वरिपरि बस्दै एकअर्कामा चिनजान गराउँदै तामाङ फापारे सेलो गाएर दिनभरको थकान र पूरै रात बिताउने गरेकोले जात्राको रुपमा नामाकरण भएको भनाई रहेको छ । परिवारका सदस्य दिवङ्गत भएको पहिलो वर्ष अनिवार्य रुपमा बौद्ध र स्वयम्भूमा उहाँको सम्झनामा बत्ति बाल्नुपर्ने चलन रहेको छ । र, यसरी पितृलाई सम्झेर प्रार्थना गर्छन् ।
आफन्त तथा गीत गाउने संगीसाथीसंग भेटेर गीत गाउँछन् । पीरव्यथालाई क्षणभरकै लागि भएपनि भुल्ने यत्न गर्छन् । धर्म गर्छन्, संस्कृति जोगाउँछन् अनि त्यही बहानामा नाचगान पनि गर्छन् । गीतबाट नै तामाङ भनेर संसारलाई चिनाउँछन् । गीतबाट नै तामाङ संस्कृतिबारे ज्ञानको आदान प्रदान गर्छन् । कतिपय व्यक्ति तथा संस्थाहरू पिउने पानी–सर्बत आदि बाँड्छन् । कोही जुस नै बाँड्छन् । कोहीले फलफूल पनि बाँड्छन् । सेवा नै धर्म भन्ने कुरालाई व्यवहारमा उतार्छन् ।
पूर्णिमाको अघिल्लो दिन बौद्ध र पूर्णिमाको दिन बालाजु बाईस धारामा स्नान गरी स्वयम्भू महाचैत्यमा पुगेर पूजापाठ गरी तेमाल जात्राको समापन गरिन्छ । यस जात्रालाई बौद्ध जात्रा समेत भनिन्छ ।
यसरी भयो बौद्धमा तेमाल जात्राको नामाकरण
वि.सं. १८९१ असोज २ मा काभ्रेपाल्चोक जिल्ला तेमालका अन्तिम राजा रिन्जन दोर्जे बलले तेमाल जात्रालाई राजकीय पर्वको रुपमा मान्यता दिएको भनाइ पनि छ । अर्को भनाइअनुसार बौद्ध स्तूपको जीर्णोद्धारा सम्पन्न भएको खुसीमा तेमालको राजा बलले तेमाल जात्रा चलाएका हुन् । जात्रा सुरु हुँदाताक तेमाल क्षेत्रका तामाङ मात्र सहभागी हुने भएकाले यसको नाम तेमाल जात्रा रहन गएको भनाइ छ । अहिले यस जात्रामा सहभागी हुन काभ्रेको तेमाल लगायत दोलखा, रामेछाप, मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, धनकुटा, भोजपुर, सर्लाही काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । पछिल्लो समयमा यस जात्रामा देशबाहिरका भुटान, भारत, दार्जिलिङ र सिक्किमबाट समेत उपस्थिति हुने गरेको पाइन्छ ।
जात्रासम्बद्ध बौद्ध र स्वयम्भू स्तूप
बौद्ध स्तूपले धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व र विशेषता बोकेको छ। यसलाई सन् १९७९ मा युनेस्कोले विश्व सम्पदासूचीमा सूचीकृत गरेको थियो । बौद्ध किम्बदन्ती अनुसार सत्य युगमा विपश्वी बुद्ध काठमाडौं उपत्यकामा आएर नागार्जुन डाँडामा साधना गरेका थिए । उनैले ऋषि शक्तिले चैत पूर्णिमाको दिन काठमाडौं उपत्यकाको दहमा एक कमलको बिज रोपेका थिए। सोही कमलको फूलमा स्वयम्भूको अलौकिक ज्योति उत्पन्न भएको कथन छ । यसरी विपश्वी बुद्धले कमलको बिज रोपेको स्मरणमा तेमाल जात्रा प्रारम्भ भएको मानिन्छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३