डिजिटल युगमा नेपालले पनि विश्वका अन्य देशहरू जस्तै गलत सूचना र भ्रामक सूचनामा उल्लेखनीय वृद्धिको सामना गरिरहेको छ । गलत सूचना परालमा लागेको आगो जसरी ह्वारर फैलिने गरे पनि परिस्थिती अनुसार भुसको आगो जसरी समाजमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । सामाजिक सञ्जाल प्लेटफर्महरू र इन्टरनेटको व्यापक प्रयोगले सूचना प्रसारण र उपभोग गर्ने तौर तरिकामा व्यापक परिवर्तन ल्याएको छ । यसले जानकारीको पहुँचलाई लोकतान्त्रिक बनाएको भए पनि यसले गलत र भ्रामक सूचना सामग्रीलाई फैलिन तीव्र रुपमा मार्ग प्रशस्त गरेको छ । यस लेखमा नेपालमा गलत सूचना र भ्रामक सूचनाको वर्तमान अवस्थाको खोजी गर्ने प्रयास गरिएको छ, यसले ल्याउने चुनौतीहरू र यसलाई सामना गर्न गरिएका प्रयासहरूबारे छलफल गरिएको छ ।
गलत सूचना र भ्रामक सूचना
गलत सूचना र भ्रामक सूचनाबीचको शाब्दिक रुपमा झिनो भिन्नता मात्र देखिए पनि वास्तविक भिन्नता भने व्यापक छ । गलत सूचना (misinformation) भन्नाले कसै माथि हानि गर्ने उद्देश्य बिना फैलिएको गलत वा अशुद्ध सूचनालाई जनाउँछ । मानिसहरूले यो सत्य हो भन्ने विश्वासमा गलत सूचनालाई नै सत्य सूचनाको रुपमा ग्रहण गर्दछन् । यो नियोजित हुदैन । भ्रामक सूचना (Disinformation) भनेको मानिसहरूलाई गुमराहमा राख्नको लागि कुनै नियोजित उद्देश्य बोकेर फैलाइएको गलत जानकारी हो । यो प्रायः राजनीतिक, आर्थिक, वा विचारधारात्मक उद्देश्यबाट प्रेरित रहेको हुन्छ ।
नेपालमा डिजिटल अवस्थाको परिदृश्य
नेपालले पछिल्लो समयमा मारेको उच्चतम फड्कोमा सूचना प्रविधि पनि मुख्य एक हो । नेपालमा विगतका दशक देखि हालसम्मको अवस्थामा इन्टरनेटको पहुँच र स्मार्टफोनको प्रयोगमा तीव्र वृद्धि भएको छ । सन् २०२३ सम्ममा जनसंख्याको ६०% भन्दा बढीले इन्टरनेटको पहुँच पाएका छन् र फेसबुक, ट्विटर, टिकटक, युट्युब जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरू अत्यधिक लोकप्रिय भएका छन् । यस डिजिटल क्रान्तिले संचार, शिक्षा र आर्थिक अवसरहरूमा उल्लेखनीय टेवा पुर्याएको छ । यधपि, यसले जनमानसमा गलत सूचना र भ्रामक सूचनाको बाढी नै ल्याइदिएको छ ।
गलत सूचनाको स्रोतहरू र फैलावट
नेपालमा गलत सूचना र भ्रामक सूचनाको फैलावट हुनुमा विभिन्न कारणहरु रहेका छन् :
१. सामाजिक सञ्जाल प्लेटफर्महरूः गलत सूचना फैलाउने प्रमुख माध्यम सामाजिक सञ्जाल हुन पुगेको छ । यसको व्यापक पहुँच र सामग्री सम्प्रेषण गर्ने सहजताका कारण अफवाहहरू र गलत तथ्यहरू क्षणभरमै भाइरल भइरहेका छन् । विशेष गरी फेसबुक नेपालमा गलत सूचनाको एक प्रमुख स्रोत रहदै आएको छ । पछिल्लो समय टिकटकले पनि फेसबुकलाई उछिन्न खोजेको अनुभुती भएर नै अघिल्लो सरकारले टिकटक ब्याण्ड गर्नु परेको सजिलै आंकलन गर्न सकिन्छ ।
२. डिजिटल साक्षरताको कमीः ग्रामीण क्षेत्रहरूमा विशेष गरी जनसंख्याको ठूलो अंशमा अनलाइनमा भेट्टाइने सूचनालाई आलोचनात्मक रूपमा मूल्यांकन गर्न सक्ने डिजिटल साक्षरताको अभाव रहेको छ । यसले उनीहरूमा गलत सूचना ग्रहण गर्नुको बिकल्प हुँदैन ।
३. राजनीतिक ध्रुवीकरणः नेपालको राजनीतिक परिदृश्य अत्यधिक ध्रुवीकृत छ, जहाँ प्रतिस्पर्धी पार्टीहरू र समूहहरूले आफ्नो विपक्षीलाई कमजोर पार्न भ्रामक सूचना अस्त्रको रुपमा प्रयोग गर्छन् । यसले विशेष गरी चुनाव वा राजनीतिक अभ्यासको शिलशिलामा झूटा समाचारहरूको संख्यामा वृद्धि हुने गरेको छ । नेपाली परिदृश्यमा पनि विशेष गरी चुनावी माहोलका बखत नियोजित भ्रामक सूचनाहरु बग्रेल्ति सम्प्रेषण हुने गरेका देखिन्छन् ।
४. सांस्कृतिक र धार्मिक संवेदनशीलताः नेपालको विविध सांस्कृतिक र धार्मिक परिदृश्यलाई कहिलेकाहीँ सांप्रदायिक तनाव निम्त्याउनका लागि भ्रामक सूचना फैलाउन दुरुपयोग गरेको देखिन्छ । निश्चित समुदाय वा धार्मिक समूहहरूलाई लक्षित गर्ने भ्रामक सूचनामा सामाजिक अशान्ति निम्त्याउन सक्ने संभावना प्रवल रहेको हुन्छ । बहु–जातीय, बहु–भाषिक र बहु–सांस्कृतिक समाजमा अझ यस किसिमका चुनौती व्यापक रहेका हुन्छन् ।
५. मिडिया परिदृश्यः अनलाइन समाचार पोर्टलहरूको संख्यामा व्यापक वृद्धि, पत्रकारिता र पत्रकारको स्तरमा आएको गिरावट, संचारमाध्यममा रहेको आर्थिक संकट, संचारमाध्यम बीचको अस्वस्थ प्रतिस्पर्धा लगायतका विषयले गलत सूचनाको फैलावटमा योगदान पुर्याएको छ । केही आउटलेटहरूले सनसनीपूर्ण समाचारलाई प्राथमिकता दिँदा पनि खास गरी गलत सूचना र केही हदसम्म भ्रामक सूचनाको सम्प्रेषण हुने गर्दछ ।
समाजमा प्रभाव
नेपालमा गलत सूचना र भ्रामक सूचना फैलावटको परिणामहरू:
सार्वजनिक स्वास्थ्यः कोभिड १९ महामारीको समयमा भाइरस, खोपहरू र उपचारहरूका बारेमा छोटो समयमै देशैभरी गलत सूचना व्यापक फैलिएका अनुभव हामीसँगै छन् । जसले खोपको बारेमा भ्रम र जोखिमयुक्त स्वास्थ्य अभ्यासहरू समेत निम्त्याएको थियो ।
राजनीतिक अस्थिरताः प्रायः राजनीतिक संयन्त्रद्वारा फैलाइने भ्रामक सूचनाका अभियानहरूले अविश्वासलाई बढावा दिएको छ र राजनीतिक अस्थिरतालाई बढाएको छ । नेताहरू र संस्थाहरूलाई लक्षित गर्ने झूटा समाचारहरूले समाजलाई खण्डित र ध्रुवीकृत बनाउने कार्य गरेको छ ।
सामाजिक एकताः नेपाल बहु–जातीय, बहु–भाषिक, बहु–धार्मिक राष्ट्र हो । समाजमा गलत सूचना र भ्रामक सूचनाले सामाजिक सद्भावलाई सहजै भंग गर्ने क्षमता राख्दछ । झूटा सूचनाहरू जसले समुदायहरूलाई लक्षित गर्छन् वा हिंसालाई उकास्ने प्रयास गर्छन्, त्यसता सामग्रीले सांप्रदायिक तनाव र द्वन्द्व निम्त्याउने गरेका छन् ।
गलत सूचना र भ्रामक सूचना विरुद्घका प्रयासहरू:
गलत सूचना र भ्रामक सूचनाबाट उत्पन्न हुनसक्ने खतराहरूलाई पहिचान गर्दै नेपालका विभिन्न सरोकारवालाहरूले यसलाई सम्बोधन गर्न कदम चालेका छन् :
१. तथ्य जाँच: नेपालमा विभिन्न संगठनहरू र स्वतन्त्र तथ्य जाँचकर्ताहरूले गलत सूचनाको सत्यता जाँच गर्ने र खण्डन गर्ने काम गरिरहेका छन् । साउथ एशिया चेक र नेपाल फ्याक्ट चेक जस्ता प्लेटफर्महरूले सही जानकारी प्रदान गर्न र सार्वजनिक चेतना जगाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन् । माइसंसार डट कम जस्ता केही अनलाइन पोर्टलहरुले पनि गलत र भ्रामक सूचना विरुद्घ दरिलो कदम चाल्ने गरेका छन् ।
२. सरकारी पहलहरूः नेपाल सरकारले अनलाइन सामग्रीलाई व्यवस्थित गर्न कदम चालेको छ, यद्यपि यी प्रयासहरूले अभिव्यक्ति स्वतन्त्रतालाई केही हदसम्म उल्लङ्घन गर्ने आरोपको सामना गरिरहेका छन् । विद्युतीय कारोबार ऐन जस्ता कानुनहरू र सामाजिक सञ्जाल नियमनका लागि निर्मित कानुनहरुका कारण गलत सूचना र भ्रामक सूचना विरुद्ध लड्ने र नागरिक स्वतन्त्रताको रक्षा गर्ने कानुनबीचको सन्तुलनका बारेमा बहस पनि निम्तिएको छ ।
३. मिडिया साक्षरता कार्यक्रमहरूः विभिन्न गैरसरकारी संस्था र शैक्षिक संस्थाहरू पनि जनमानसमा डिजिटल साक्षरताको स्तर सुधार गर्नमा प्रयासरत देखिन्छन् । सूचनामा जनमानसको आलोचनात्मक चेतको वृद्घि गर्न जनचेतनामूलक कार्यक्रमहरुमार्फत गलत सूचनाको फैलावटलाई केही हदसम्म कम गर्ने प्रयास गरिएको भएपनि त्यस्ता कदम पर्याप्त भने छैनन् ।
४. सामाजिक सञ्जाल संचालकहरुसँगको सहकार्यः गलत सूचना पहिचान गर्न र हटाउन सामाजिक सञ्जाल प्लेटफर्महरूसँग सहकार्य गर्ने प्रयासहरू भइरहेका छन् । फेसबुक जस्ता प्लेटफर्महरूले तथ्य जाँच गर्ने संयन्त्रको विकास र सामग्री मध्यस्थता नीतिहरू सुरु गरेका छन्, यद्यपि कार्यान्वयन अझै प्रभावकारी हुन सकेको छैन ।
५. परम्परागत मिडियाको भूमिकाः नेपालका स्थापित मूलधारका मिडिया आउटलेटहरूलाई पत्रकारितामा उच्चतम गुणस्तर कायम राख्ने र सत्य तथा विश्वसनीय समाचारहरू प्रदान गरेर गलत सूचनालाई प्रतिकार गर्ने जिम्मेवारी रहेको छ । केहि मिडियाले यस्ता भूमिका निर्वाह गरेता पनि पर्याप्त मात्रामा परम्परागत मिडियाको भूमिकामा पनि कमि रहेको छ ।
भविष्यका चुनौतीहरू
यी प्रयासहरूका बावजुद, नेपालमा गलत सूचना र भ्रामक सूचना विरुद्घको लडाइँमा अझै केही चुनौतीहरू बाँकी छन् :
डिजिटल डिभाइड: इन्टरनेट पहुँच र डिजिटल साक्षरतामा शहरी र ग्रामीण क्षेत्रहरूबीचमा ठूलो खाडल रहेको छ । जसले गर्दा बढी ग्रामीण भेगका जनमानस गलत र भ्रामक सूचनाको शिकार बन्न पुगेका छन् । इन्टरनेट पहुँचमा मात्र होइन माध्यमहरुको प्रयोग गर्ने क्षमताको विकास र इन्टरनेट प्रयोगकर्ताको सक्रिय सहभागिता मार्फत यस खाडललाई कम गर्न सकेको अवस्थामा गलत र भ्रामक सूचनाका चुनौती कम गर्न सकिन्छ ।
नियन्त्रण र स्वतन्त्रताको सन्तुलनः गलत सूचना नियन्त्रण गर्न जति आवश्यक छ, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई कुन्ठित नगरीकन सावधानीपूर्वक नीति तर्जुमा गर्न पनि उति नै आवश्यक छ । गलत सूचना नियन्त्रण गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई संकुचित गरिनु भनेको लोकतन्त्रको सुन्दर्तामाथि प्रहार गरिनु हो । त्यसैले यी बीचमा सही सन्तुलन कायम राख्ने महत्वपूर्ण चुनौतीहरू छन् ।
राजनीतिक इच्छाशक्तिः गलत सूचनालाई प्रभावकारी रूपमा सम्बोधन गर्न राजनीतिक इच्छाशक्ति र सबै सरोकारवालाहरूबाट प्रतिबद्धताको आवश्यकता छ, जसमा राजनीतिक पार्टीहरूले क्षणिक फाइदाका लागि भ्रामक सूचनालाई प्रयोग नगर्ने प्रतिबद्धताको जरुरत हुन्छ । गलत र भ्रामक सूचना फैलाउनु नैतिकता विरुद्घका गतिविधि हुन् । राजनीतिक पार्टी र नेताहरु पनि नैतिक बन्धनमा बाँधिनु अवश्यक छ ।
गलत सूचना र भ्रामक सूचनाले विकसित र विकासोन्मुख राष्ट्र भनेर छुट्याउदैन । प्रविधिले विकसित र विकासोन्मुख राष्ट्रहरुलाई एकै धरातलमा उभ्याइदिएको छ । प्रविधिको उच्चतम फड्कोले निम्ताएको गलत र भ्रामक सूचनाको समस्या विश्वकै निम्ति ठूलो चुनौतीको रुपमा खडा भएको छ । तीव्र रूपमा विकसित भइरहेको डिजिटल प्रविधिको छलांगले नेपाल जस्ता विकासोन्मुख राष्ट्रलाई भने बढी असर गर्दछ । यी मुद्दाहरूलाई सम्बोधन गर्न प्रयास भए पनि, अझै धेरै काम गर्न बाँकी छ । डिजिटल साक्षरतामा सुधार ल्याउने, मिडिया उत्तरदायित्व बढाउने, सरकार, नागरिक समाज र निजी क्षेत्रबीचको सहकार्यलाई प्रोत्साहन गर्ने जस्ता कार्य अविलम्व कार्यान्वयन गरिनु पर्दछ । गलत तथा भ्रामक सूचना रोक्नु मात्र आजको आवश्यकता होइन । आवश्यकता त गलत र भ्रामक सूचना मार्फत समाजमा पुग्न सक्ने क्षतीको न्यूनिकरण गर्नु नै हो ।
(प्रेस काउन्सिल नेपालको प्रकाशन ‘संहिता’ मा प्रकाशित)
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७