देवेन्द्र अर्याल ‘आँसु’
(लेखक तथा संस्कृतिविद्)
काठमाडौ ।तारकेश्वर नगरपालिकाका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, सामाजिक एवम् पौराणिक महत्वका स्थानहरु आधुनिक नामकरणका कारण विस्थापित र कागजमा मात्र सीमित हुने देखिन्छ । तिनीहरुको प्राचीन नाम संकटमा परेको छ । यसरी प्राचीनता झल्कने नाम संकटमा पर्नुलाई ऐतिहासिक वा सांस्कृतिक मान्यताले पनि नराम्रो ठान्न सकिन्छ ।
अहिले तारकेश्वर नगरपालिकाका विभिन्न प्राचीन नाम भएका बस्ती, टोल गाउँहरुका आधुनिक नाम नामकरण गर्दा त्यहाँको मौलिक पहिचान र अस्तित्व संकटमा परेको देखिन्छ । समाज रुपान्तरण हुँदा इतिहास पनि रुपान्तरण हुने वा तोडमोड हुने त होइनन नि, तर अचेल मानिसहरु त्यसलाई परिवर्तनका नाममा भएका कुनै पनि मान्यतालाई किन भत्क्याउन चाहन्छन् , यो बढी सोच्नु पर्ने विषय भएको छ । हुन त यो समस्या वा प्रवृत्ति तारकेश्वर नगरभित्रकको मात्र होइन देशभरिको नै हो ।
कुनै पनि गाउँ ठाउँ वा नगरको आफ्नै इतिहास, गौरव, मूल्यमान्यता वा पहिचान हुन्छ , त्यो संकटमा पर्नु भनेको त्यहाँको इतिहास गौरव र मूल्यमान्यता पनि संकटमा पर्नु नै हो । आधुनिकताको नाममा भएका मूल्यमान्यतामाथि तोडमोड पार्नु वा त्यसलाई गलत तरिकाले बुझ्दा त्यससँग अन्तरनिहीत विषयवस्तु पनि लोप भएर जान्छन् । कुनै पनि ठाउँको नामकरणमा त्यससँग सम्बन्धित ऐतिहासिक मूल्यमान्यता, सामाजिक, भौगोलिक, पौराणिक,जातीय विविभ कारण वा अन्य विषय पनि रहन गएको पाइन्छ । नामकरणले कुनै न कुुनै अर्थ बोकेको नै पाइन्छ ।
यसैले ती प्राचीन नामलाई भत्क्याएर नयाँ नाम दिँदा प्राचीन सभ्यता, संस्कृति, इतिहास वा अन्य सामाजिक मूल्यमान्यताहरु खतरामा नपर्लान भन्न सकिन्न । त्यसैले हामीहरुले स्थानीय मूल्यमान्यता वा सामाजिक अवस्थाको पहिचान गरी त्यससँग सम्बन्धित ऐतिहासिक पक्षलाई पनि ख्याल गर्नु पर्दछ । यदि त्यसो नगर्ने हो भने महत्त्वपूर्ण ती नामहरु केवल कागजमा मात्र सीमित नहोलान् भन्न सकिन्न ।
कुरा तारकेश्वरतिर नै जाउँ, बालाजु बाइपासबाट पश्चिमतिर ओरालो झरेर नेपालटार पुगिन्छ । नेपालटारबाट अलिअगाडि पश्चिमतिर लागेपछि लामबगर भन्ने ठाउँ छ । विगतमा त्यो बगर थियो र दशैँताका लामाहरुले भेडा च्याङ्ग्रा ल्याएर त्यही बगरमा राख्थे । त्यसरी नामकरण भएको त्यो ठाउँ अहिले कतै पनि लामबगर भनेर लेखिएको पाइन्न । अरु पनि कारण होला त्यसको नामकरणको तर शेषमतीदेखि जरङ्कुसम्म पुग्दा लामबगर भनेर चिनिनु पर्ने त्यो ठाउँमा अनेकौँ नाम चलेको पाइन्छ ।
यस्तै तारकेश्वर नगरपालिका वडा नं ५ रहेको बोहोराटार भन्ने स्थानलाई सबैले लोलाङ हाइट भनेर लेखेको वा बोल्ने गरिएको पाइन्छ । तर वास्तविक लोलाङ त वडा नं ४ मा पर्दछ । यो प्राचीन नेवारी गाउँ ल्वँहँलँ हो । जुन नेवारी भाषामा ढुंगाको बाटोबाट नामकरण भएको देखिन्छ । लोलाङ गाउँमा वज्रयोगिनी र जितगुरु गणेशको मन्दिर रहेको छ । यस स्थानलाई प्राचीन ऐतिहासिक स्थलका रुपमा लिन सकिन्छ ।
त्यस्तै तारकेश्वर वडा नं ५ मा रहेको एउटा गाउँ टोल छ त्यसलाई सबैले न्यौपानेथोक वा टोल भन्थे । तर त्यहाँ त एउटा ठूलो बोर्ड लागेको छ । रुबीभ्याली टोलको । रुबीभ्याली त धादिङमा पर्दछ । सायद धादिङतिरका दाजुभाइहरु त्यहाँ आएर बसेका कारण त्यो नाम राखिएको हुनसक्छ ।
विगतमा पनि नामकरणमा यस्तै प्रकारका विकार नदेखिएका होइनन् । प्राचीनतालाई नै बिर्सने र तोडमोड हुने गरी स्थानको नामकरण गर्नु त्यति सान्दर्भिक नहुने राय समाजशास्त्रीहरुको पनि रहेको छ ।
धर्मस्थली, मदानपुर, लोलाङ, जरङ्कु, पुसल, चोगाउँ, मुडिखु, पाँचमाने, बैखु, छबेली, फूलबारी, बालकुमारी, जितपुरफेदी, मनमैजु, फुटुङ, काभ्रेस्थली, डुक्रने पानी वा लखपात, दुखेल, पदमसाल, भेडीगोठ आदि यस्ता नामहरुका पछाडि विभिन्न सामाजिक ऐतिहासिक धार्मिक मूल्यमान्यता रहेको देखिन्छ ।
त्यसैले यस प्रकारका नामकरणका पछाडि कुनै न कुनै अर्थ बोध हुने हुँदा त्यस्ता स्थानलाई जीवन्त राख्न सबैले त्यसतर्फ ध्यानदिनु जरुरी छ । नत्रभने हाम्रो ऐतिहासिक मूल्यमान्यता एकदिन लोप नहोला भन्न सकिन्न ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३