प्रविधिले मारेको उच्चतम फड्कोसँगै जनमानसमा सूचना ग्रहणको तौरतरिका मै व्यापक परिवर्तन आएको छ । सन् १४५० को दशकमा गुटेनवर्गले आविष्कार गरेको प्रिन्टिङ प्रेसले पत्रकारितालाई स्वरुप दिन वरदान साबित भयो । सन् १८९५ मा मर्कोनीले आविष्कार गरेको वायरलेस टेक्नोलोजी (रेडियो) ले हिजोको सूचना आज मात्र थाह पाउन सकिने युगको अन्त्य गर्यो । सन् १९२६ मा जे.एल. वर्डले आविष्कार गरेको टेलिभिजनले सुन्ने मात्र नभएर दृश्य दुरुस्तै अवलोकन गर्न सक्ने प्रविधिको विकाश भयो । सन् १९९० को दशकमा सुरुवात भएको इन्टरनेटको विकाशले भने यस अघिका संचारमाध्यमलाई चुनौती मात्र खडा गरेन, परम्परागत संचारमाध्यमको रुपमा परिणत गराइदियो ।
पछिल्लो समयमा इन्टरनेटले अनलाइन संचारमाध्यमको वर्चश्व कायम गराइदिएसँगै जनमानसमा पत्रकारिताको बुझाइमै परिवर्तन आएको छ । समाजिक संजालका विविध स्वरुपहरु र भिडियो प्लेटफर्ममा आउने पत्रकारिता जस्तो देखिने सामाग्रीहरुले जनमानसमा पत्रकारिताप्रति द्विविधा उत्पन्न गराएको हो । घरायसी झगडा, टोल छिमेकका अति सामान्य घटना, समाजमा कुनै सकारात्मक अर्थ नराख्ने बेतुकका समाग्री पत्रकारिताको शैलीमा प्रस्तुत गरिने भएका कारण पनि यसले द्विविधा उत्पन्न गराएको छ । यस्ता सामाग्रीले कतै पत्रकारिताले स्थान दिने यस्तै विषयवस्तु त होइन भन्ने गलत भाष्य जनमानसमा निर्माण हुन पुगेको छ ।
सन् २०२३ मा “डिजिटल युगमा छापा संचारमाध्यमका चुनौती” शिर्षकको शोधपत्रमा मैले आफैले गरेको सर्वेक्षणमा ९१.७ प्रतिशत सहभागीले ब्रेकिङ न्युज अनलाइन संचारमाध्यमबाट पाउने बताएका थिए, जुन सोसल साइन्स रिसर्च नेटवर्क नामक अन्तरराष्ट्रिय अनलाइन लाइब्रेरीमा प्रकाशित छ । यसले के पनि बताउँछ भने, वर्तमान दृश्यमा अनलाइन संचारमाध्यमले सूचना सम्प्रेषणमा महत्वपूर्ण भूमिका खेलेको त छ नै, यो लोकप्रिय पनि बनेको छ । तर यसमा सम्प्रेषण भएका सामाग्रीमा भने विश्वसनीयताको प्रश्न बारम्बार उब्जने गरेको छ ।
पत्रकारितामा निश्चित प्रकृया वा चरणहरुको आवश्यकता पदर्छ, जसको अभावमा पत्रकारिता बेलगाम घोडा बनिदिन्छ । रिपोर्टरले रिपोर्टिङ गरिएका समाग्रीलाई सम्पादनको चरण पार गरेर मात्र प्रकाशन वा प्रसारण गरिनु पर्दछ । तर पछिल्लो समय अधिकांश संचारमाध्यमले विभिन्न बहानामा पत्रकारितामा अत्यावश्यक पर्ने चरणहरु पालना नगर्दा पनि विश्वसनीयता गुमाउनु परेको छ । रिर्पोटिङ गरिएका सामाग्री सम्पादनमा हुने महत्वपूर्ण चरण “गेट किपिङ” बिनानै प्रकाशन वा प्रसारण हुने गरेका छन् । सम्पादकले गर्नुपर्ने पुर्नप्रमाणीकरण, सत्यता परिक्षण जस्ता महत्पूर्ण चरणको अभावले संचारमाध्यमको विश्वसनीयता संकटतर्फ धकेलिरहेको छ ।
गुगल एडसेन्स रेभेन्यूको लोभ पनि पत्रकारिता माथिको चुनौतीको रुपमा देखा परेको छ । मूलधारका मिडियामा काम गरेका पत्रकारहरु नै पनि पछिल्लो समय युट्युबका प्लेटफर्मलाई आफ्नो मुख्य माध्यम बनाएर पत्रकारिता गरिरहेका छन् । प्रविधिसँग भागेर होइन आत्मसाथ गरेर अगाडि बढ्नुको विकल्प पनि छैन । तर मूलधार संचारमाध्यममा रहेर सम्वेदनशील पत्रकार गरिरहेकै पत्रकारहरु पनि युट्युब प्लेटफर्ममा डाइभर्ट हुदाँ किन असम्वेदनशील भइरहेका छन् ? बेतुकका सेनसेस्नल हेडलाइन राख्नै पर्ने उनीहरुलाई के बाध्यता आइपर्यो ? यी प्रश्नहरु नेपाली पत्रकारिता जगतका प्रश्नहरु रहेका छन् ।
पत्रकारिताको भाष्य गलत निर्माण हुदाँ ओम्नी काण्ड, बतास काण्ड, ललिता निवास काण्ड, गिरीबन्धु टी स्टेट काण्ड र यस्ता कैयन बेथिति र भ्राष्टाचारका काण्डहरु झन् फस्टाएर जानेछन्, महामारीका समयमा कालो बजारी अझ मौलाउने छन्, फल फलाउन खोजिरहेको संघिय लोकतान्त्रिक गणतन्त्रका हाँगा कम्जोर हुँदै जानेछन् , खुलेर बोल्न पाएका जनताको आवाज थुनिने छ । गलत भाष्य निर्माण गर्न जान–अन्जानमा लागि परेकाहरुलाई सत्मार्गमा ल्याउन जरुरी छ, उत्तरदायी पत्रकारिताको कुनै पनि विकल्प छैन । माटोमा लत्पतिएको हीरा, मुसलधारे वर्षाले पखालिएपछि आफ्नो प्राकृतिक स्वरुपमा चम्किए जस्तै आजको पत्रकारिता पनि मुसलधारे वर्षाको पर्खाइमा छ, आफ्नै प्राकृतिक स्वरुपमा चम्किन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३