काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा चारवटा महत्वपूर्ण प्रस्ताव पठाएको छ । प्रस्तावअनुसार आन्तरिक उडान खोल्नेदेखि नेपाली आयोजनामा काम गर्ने विदेशी कामदारलाई नेपाल ल्याउनेसम्म रहेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार मन्त्रालयले १ असोजबाट आन्तरिक उडान खोल्ने प्रस्ताव मन्त्रालयले गरेको छ । यद्यपी १५ असोजबाट नियमित उडान हुने सम्भावना रहेको उनले जानकारी दिए ।
‘आज हामीले १ असोजबाट आन्तरिक उडान खुलाउने प्रस्ताव गरेका छौं,’ उनले भने, ‘सम्भवतः १ असोजमा भएन भने १५ असोजबाट खुल्छ ।’
मन्त्री भट्टराईका अनुसार पहिलो चरणमा कोरोना भाइरसको संक्रमण कम भएको जिल्लामा रहेको विमानस्थलमा उडान सुरु गरिने भएको छ ।
‘प्राथमिकतामा हिमाली र पहाडी इलाकामा रहेका एयरर्पोर्टबाट आन्तरिक उडान शुरु हुन्छ,’ उनले भने । मन्त्री भट्टराईका अनसुसार दशैं र तिहारलाई लक्षित गरी उडान खुलाउने तयारी गरिएको हो ।
मन्त्रालयले आज सीसीएमसीमा पठाएको प्रस्ताव अनुसार अब विदेशमा रोकिएका नेपाली आयोजनामा काम गर्ने कामदारलाई समेत नेपाल आउन अनुमति दिने प्रस्ताव माग गरिएको छ ।
‘विदेशी कामदार रोकिएकै कारण भैरहवा विमानस्थलको काम रोकिएको छ,’ उनले भने, ‘अब हामी उनीहरुलाई नेपाल ल्याउने तयारीमा छौं ।’
पर्यटकलाई अनुमतिको प्रस्ताव
मन्त्रालयले अब गैरआवासीय नेपाली र पर्यटकलाई समेत स्वास्थ्य प्रोटोकल पुरा गरी नेपाल आउन अनुमति दिने गरी केन्द्रमा प्रस्ताव लगेको छ ।
‘पर्यटन क्षेत्रले ६ महिनाभन्दा लामो समय धैर्य गरेको छ, उनले भने, ‘अब क्रमशः स्वास्थ्यका नियम पालना गरी हामी पर्यटन गतिविधि अगाडी बढाउने योजनामा छौं ।’
उनका अनुसार आज बिहीबार नै अन्तर्राष्ट्रिय नियमित उडानलाई संख्या बढाएर यसअघि लगाएको कोटा हटाउने निर्णय समेत भएको छ ।
अब दैनिक उडानको संख्या मागका आधारमा स्वतः बढ्ने गरी निर्णय भएको मन्त्री भट्टराईले जानकारी दिए ।
बिहीबार आर्थिक पत्रकार समाजसँगको आर्थिक बहसमा भाग लिँदै मन्त्री भट्टराईले अब सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि योजनावद्ध रुपमा काम भइरहेको जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७