काठमाडौं – नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको पक्षमा वकालत गर्ने एक जना युवक प्रहरीबाट निर्घात कुटिएका छन् । सामाजिक कार्य गर्ने १०० ग्रुपका संस्थापक सिराहाको लहान घर भएका बब्लु गुप्तालाई प्रहरी निरीक्षक केशर न्याैपानेसहितको टोलीले निर्घात कुटपिट गरेको हो ।
घिसिङलाई प्राधिकरणमा पुनः नियुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गर्न जाने क्रममा गुप्तासहितको टोलीलाई बबरमहलमै प्रहरीले छेकेको थियो । प्रहरीले छेकेपछि कला परिषद् अगाडिको बाटो हुँदै जान खोजिएको थियो । तर, प्रहरीले ब्यानर देखाउन र कार्यक्रम गर्न नपाइने भन्दै लखेटेको उनको भनाइ छ ।
त्यसक्रममा ‘केपी ओलीको पक्षमा प्रदर्शन गर्न हुने, राम्रो मान्छेको पक्षमा किन नहुने’ भनेर आफूले प्रहरीलाई प्रश्न गरेको गुप्ता बताउँछन् । तर, यो प्रश्नबाट प्रहरी रिसाएर सबैलाई अन्धाधुन्द लाठीचार्ज र बुट बजार्न थालेको उनले बताए ।
प्रहरीले आफूहरुलाई कुनै कारणसमेत नदिइ अश्लील शब्द बोल्दै कुटपिट गरेको उनले बताए । कुटाइबाट उनको खुट्टामा चोट लागेको छ । ‘हिजो एक्स रे पनि भयो, भित्रचाहिँ समस्या देखिएन’, उनी भन्छन् ।
प्रहरीले उनलाई केहीबेरपछि प्रहरी भ्यानमा राखेर महानगरीय प्रहरी वृत्त, सिंहदरबार लगेको थियो । त्यहाँ पुगेलगत्तै गुप्ता निर्घात कुटिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो र उनलाई प्रहरीले थुनामुक्त गरेको थियो ।
‘भिडियो नआएको भए, अझै दुःख पाइन्थ्यो होला’, गुप्ता भन्छन्, ‘चौकीमा पुगेपछि चाहिँ मलाई सौहार्दपूर्ण व्यवहार भयो ।’
उनकै टोलीले बुधबार कुलमानको पक्षमा अनामनगर क्षेत्रमा मसाल जुलुस पनि निकालेको थियो ।
उनको समूहले अहिले कपडा बैंक नामक अभियान पनि चलाइरहेको छ भने भोका श्रमिकहरुलाई रत्नपार्कमा खाना खुवाउने व्यवस्था पनि गरिरहेको छ । गुप्ता नोबेल कलेजमा जनस्वास्थ्य विषयमा स्नातक अध्ययनरत विद्यार्थी हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७