काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमको राष्ट्रिय सभा सदस्य पदका सर्वोच्चमा परेको रिटमाथिको सुनुवाई शुक्रबारसम्मलाई लम्बिएको छ ।
बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुबैपक्षबाट बहस भए पनि अझै कानुन व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएका कारण शुक्रबारसम्मलाई सरेको हो ।
सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले सुनुवाई नसकिएकाले शुक्रबारसम्म सरेको जानकारी दिए ।
नेकपा उपाध्यक्ष गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले उक्त मनोनय नबदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, दिनेश त्रिपाठी, हरि उप्रेती, पंकज कर्णलगायतले बहस गरेका थिए । विपक्षी सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरेका थिए ।
उक्त रिटमाथि यसअघि असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले बामदेवको पद यथास्थितिमा राख्न र उनलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७