बुटवल – दाङलाई राजधानी बनाउने पक्षमा मतदान गर्न नेपाल कम्युनिस्ट पार्टीले ह्वीप जारी गरेको छ । सोमबार विहान बसेको प्रदेश ५ को संसदीय दलको बैठकले दाङलाई राजधानी बनाउने पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।
नेकपा प्रदेश ५ प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालले ह्वीप जारी गर्ने निर्णय भएको जानकारी दिएका छन् । ढकालले भने, सरकारले निर्णय गरी दर्ता भएको प्रस्तावको पक्षमा मतदान गर्न ह्वी जारी गर्ने निर्णय भएको छ । नेकपाको ह्वीपसँगै दाङलाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभाबाट पारित हुने सम्भावना बढेको छ ।
प्रदेश ५ को ८७ प्रदेश सांसद मध्ये नेकपाका ६१ जना छन् । ५८ मत दाङको पक्षमा परेमा दुई तिहाईले राजधानी बनाउने प्रस्ताव पारित हुनेछ । कम्तिमा ४ जना नेकपाका सांसदले ह्वीप उल्लंघन गरेमा र नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले प्रस्तावको विपक्षमा मतदान गरेमा मात्र दाङ राजधानी हुनेछैन ।
आजबाट प्रदेश ५ मा नाम राजधानीबारे छलफल भई भोलि मुख्यमन्त्री शंकर पोखरेलले निर्णायर्थ प्रस्ताव गर्ने तयारी भएको समेत नेकपा प्रमुख सचेतक ढकालले जानकारी दिए । प्रस्तावबारे भोलि नै निर्णय हुनेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७