काठमाडौं – कुरिलोको भाउ किलोकै ५ हजार रुपैयाँ पुगेको छ । मागमा भएको अत्यधिक वृद्धि र उत्पादनको सीमितताका कारण भाउ एक्कासि बढेको हो । अफ सिजन भएकाले यतिबेला बजारमा कुरिलो थोरै मात्रामा पाइन्छ । त्यसको फाइदा उठाउँदै व्यापारीले अस्वाभाविक मूल्य लिन थालेका छन् ।
‘कुरिलो सिजनल हो, बजारमा कहिले आउँछ, कहिले आउँदैन,’ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘बजारमा पाइने कुरिलो काठमाडौंभित्रको हो । थोरै आउँछ, एकैछिनमा बिक्री हुन्छ ।’ समितिको तथ्यांकअनुसार गत जेठमा कुरिलो प्रतिकिलो न्यूनतम २ सय ५० देखि ३ सय २५ रुपैयाँ ९होलसेल मूल्य० थियो । असारमा प्रतिकिलो २ सय ४० देखि २ सय ६० रुपैयाँमा पाइन्थ्यो । साउनमा प्रतिकिलो २ सय ४० देखि ५ सय र भदौमा ३ सय ५० देखि ५ सय रुपैयाँ बजार भाउ थियो ।
यस्तै असोज १ देखि १२ गतेसम्म न्यूनतम मूल्य ४ सय ४० रुपैयाँदेखि ४ सय ५० सम्म रहेको समितिको तथ्यांक छ । समितिले कात्तिक ६ गते निर्धारण गरेको मूल्य भने प्रतिकिलो १ हजार ८ सय रुपैयाँदेखि २ हजार रुपैयाँ छ । त्यसपछि मूल्य अपडेट गरिएको छैन । खुद्रा बजारमा दोब्बरभन्दा बढीमा बिक्री भइरहेको व्यवसायीहरू बताउँछन् । ढुंगाना एग्रिकल्चर फार्मका सञ्चालक समर्थन ढुंगानाले बजारमा अभावकै कारण बढी मूल्य परेको जानकारी दिए । ‘कुरिलोमा औषधिको मात्रा बढी हुन्छ । बिरामी, सुत्केरीलाई खुवाउन भन्दै किन्ने बढी छन्,’ उनले भने, ‘यो बेला अफ सिजन भएकाले किलोकै ५ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ ।’
कोरोनाका बिरामीलाई खुवाउन प्रयोग गरिएकाले पछिल्लो महिना कुरिलोको माग बढ्दो छ तर व्यावसायिक खेती छैन । व्यावसायिक खेती नहुँदा मागअनुसार उत्पादन हुन सकेको छैन । समितिका सूचना अधिकारी श्रेष्ठका अनुसार कुरिलो मुख्यतः वैशाख, जेठदेखि असारसम्म बजारमा आउँछ । कालीमाटीभित्र स्थानीय किसानले मात्रै ल्याउँछन् । कतिपय किसानले सिधै डिपार्टमेन्ट स्टोरमा पठाउँछन् ।
राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार मुलुकभर १ सय ५७ हेक्टरमा कुरिलो खेती गरिन्छ । उक्त क्षेत्रफलमा १ हजार १ सय ६६ टन उत्पादन हुन्छ । मोरङ, खोटाङ, झापा, काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौं, नुवाकोट, धादिङ, कास्की, पर्वत, नवलपुर, चितवन, दाङ, प्यूठान, जाजरकोटमा सबैभन्दा बढी उत्पादन हुन्छ । प्रदेशगत हिसाबले सबैभन्दा बढी वाग्मतीमा ८ सय ७९ टन उत्पादन भइरहेको केन्द्रका सूचना अधिकारी भरतबहादुर आचार्यले जानकारी दिए । ‘वाग्मतीमा ७४ हेक्टरमा खेती हुन्छ, उपत्यका भएकाले उत्पादन र माग यही क्षेत्रमा छ,’ उनले भने । प्रदेश १ मा ५८ हेक्टरमा १ सय ७६ टन उत्पादन भइरहेको केन्द्रले जनाएको छ । गण्डकीमा १३ हेक्टरमा गरिएको खेतीबाट ५७ टन उत्पादन हुन्छ । प्रदेश ५ मा ११ हेक्टरमा खेती हुन्छ, त्यहाँ ५० टन उत्पादन हुने गरेको छ । कर्णालीमा २ हेक्टरमा ४ टन उत्पादन भइरहेको सूचना अधिकारी आचार्यले जानकारी दिए । केन्द्रका अनुसार प्रदेश २ र सुदूरपश्चिममा भने कुरिलो खेती भएको छैन ।
सीमित क्षेत्रमा खेती गरिएकाले पर्याप्त उत्पादन हुन नसक्दा मूल्य बढेको हो । ‘कुरिलो खेतीबाट कमाइ राम्रो छ, सिजनमा किलोको २ देखि ३ सय रुपैयाँ भए पनि अहिले २ हजार ५ सय रुपैयाँभन्दा माथि नै पर्छ,’ बानेश्वर तरकारी बजारका जनम साहले भने, ‘बारामा १० रोपनीमा कुरिलो खेती गरिरहेको छु, ठिकै छ ।’ होलसेल व्यवसायीसमेत रहेका साहले तीन वर्षदेखि बारामा आफैं खेती गर्दै आएका छन् । उनले कुरिलो बिक्री गरेर वार्षिक ८ लाखसम्म आम्दानी गरिरहेको जानकारी दिए । कुरिलोको माग बढेपछि भक्तपुर सिपाडोलबाट समेत खरिद गरेर बानेश्वर तरकारी बजारमा बिक्री गर्दै आएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३