काठमाडौं – कोरोना विरुद्धको खोप लगाउन १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारको तयारी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीतिगत र कानुनी जटिलता फुकाइसकेको भन्दै खोप कार्यक्रम प्रभावकारी बनाउन ५ हजार कर्मचारी र ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने तयारी गरेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार दुईदेखि आठ डिग्री तापक्रममा १ करोड ७० लाख खोपको डोज भण्डारणका गर्ने क्षमतासहितको पूर्वाधार तयार पारिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको खोप फागुनसम्म आउन सक्ने संकेत गरेको छ ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरिने बताए । खोप अन्योलसम्बन्धी जिज्ञासामा मन्त्री त्रिपाठीले भने, ‘मेरो व्यक्तिगत जीवनमा फागुन महिना चामत्कारिक हुन्छ । यसपालि पनि फागुन चामत्कारिक होला भनेर आशा गरौं ।’
सरकारले खोप लगाउन स्वास्थ्यकर्मी, ५५ वर्षमाथिका र दीर्घरोगीलाई प्राथमिकतामा राखेको छ । खोप प्राविधिक प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । प्रस्तावमा खोप प्राप्तिका आधार, लागत, सुरक्षा, उपलब्धतालगायतका विषय उल्लेख छन् । स्वास्थ्यमन्त्री त्रिपाठीले भने, ‘खोप खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुनेछ । खोप समयमै आउँछ ।’
उनले सरकार सरकारबीचको खरिद प्रक्रियालाई प्राथमिकता दिने भन्दै खोप आयातका लागि आन्तरिक तयारी धेरै अघि बढिसकेको बताए । उनले आफूले रुस, भारत र अरबका राजदूतसँग खोप प्राप्तिका सन्दर्भमा कुरा गरेको बताए । उनले भने, ‘खोप प्राप्तिका लागि सरकार गम्भीर छ । सरकारले आफ्ना हरेक च्यानल र सम्भावनालाई अघि बढाइरहेको छ ।’राजधानी दैनिकबाट
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३