काठमाडौं – काठमाडौँ उपत्यकामा माघ पहिलो सातादेखि भौतिक रूपमै विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरसको सङ्क्रमण कम हुँदै गएको तथा सरकारले समेत चालू शैक्षिक सत्रलाई सदुपयोग गर्ने तयारी गरेअनुसार माघ पहिलो सातादेखि सबै विद्यालय सञ्चालनमा ल्याउन लागिएको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाले आइतबारदेखि सबै विद्यालय खोल्ने निर्णय गरेको नगरका शिक्षा शाखा प्रमुख मनोजकुमार ढकालले जानकारी दिए । भौतिक संरचना तथा विद्यार्थीको सङ्ख्याका आधारमा विद्यालय सञ्चालनबारे विद्यालयले थप निर्णय गर्ने जनाइएको छ ।
ललितपुर जिल्लाका धेरै स्थानीय तहले पनि आइतबारदेखि नै विद्यालय सञ्चालन गर्ने भएका छन् । ललितपुर महानगरपालिकाले गत महिनादेखि कक्षा सञ्चालन गर्न सक्ने गरी विद्यालयलाई बाटो खोलिदिएको छ ।
गोदावरी नगरपालिकाका शिक्षा प्रमुख देवीप्रसाद उपाध्यायले नगरपालिकाका विद्यालय आइतबारबाटै सञ्चालनमा आउने जानकारी दिए। स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्दै विद्यालय सञ्चालनमा ल्याउन भनिएको छ ।
नगरपालिकाले सामुदायिक विद्यालय सञ्चालनका लागि सहज होस् भनेर माध्यमिक विद्यालयलाई २५ हजार, कक्षा आठसम्म सञ्चालन भएका विद्यालयलाई १५ हजार र कक्षा पाँचसम्म सञ्चालन भएका विद्यालयलाई १० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
काठमाडौँका धेरै स्थानीय तहका विद्यालय पनि माघ पहिलो सातादेखि सञ्चालनमा आउँदै छन् । काठमाडौँ महानगरपालिकाले भने विद्यालय सञ्चालन गर्ने औपचारिक मिति घोषणा गरेको छैन ।
आइतरबार यस विषयमा छलफल गर्न बैठक बोलाइएको र त्यसले निर्णय गर्ने जानकारी महानगरपालिकाका सम्बद्ध अधिकारीले दिएका छन् । पहिलो साताभित्रै महानगरका विद्यालय सञ्चालन गर्ने योजना छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३