काठमाडौं, मंसीर ११- सरकारले आज एक विशेष कार्यक्रमका बीच योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गर्दैछ । यसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । यो योजना लागु भएपछि नीजि क्षेत्रमा कार्यरत श्रमिकले पनि पेन्सन तथा उपादान पाउनेछन् । तर यसका लागि सम्वन्धित श्रमिक र उसको रोजगारदाताले सामाजिक सुरक्षा कोषमा योगदान गरेको हुनुपर्दछ ।
सुरुमा ९ वटा स्कीममा बारेमा छलफल भएपनि सरकारले सुरुमा चारवटा स्कीम लागु गरेको छ । यसअन्तर्गत औषधिउपचार, स्वास्थ्य सुरक्षा तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा,आश्रित परिवार सुरक्षा र बृद्धावस्था सुरक्षा कार्यक्रम रहेका छन् ।
के छन् सुविधा ?
कोषबाट सञ्चालन हुने स्कीममा समावेश औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाको लागि औषधि उपचार तथा स्वास्थ्य सेवाको सुविधा प्राप्त गर्न ६ महिना योगदान गरेको हुनुपर्नेछ । मातृत्व सुरक्षा योजनाका लागि १८ महिनाको अवधिमा १२ महिना योगदान गरेको हुनुपर्दछ ।
दुर्घटना तथा अशक्तता सुरक्षा योजनाको सुविधा भनें योगदान गरेको मितिबाट नै प्राप्त हुनेछ । रोजगारीजन्य दुर्घटना तथा व्यावसायजन्य रोगको उपचारमा लाग्ने सम्पूर्ण खर्च स्कीममा समावेश गरिएको छ । तर व्यवासायजन्य रोगको उपचार गर्न दुई बर्षसम्म योगदान गरेको हुनुपर्दछ ।
रोजगारीजन्य दुर्घटनाबाहेक अन्य दुर्घटना भएको अवस्थामा ७ लाख रुपैंयाँसम्मको उपचार खर्च स्कीमबाट प्राप्त् हुने र तर प्रकृतिक वित्तिको कारण दुर्घटना भएकोमा वा सडक दुर्घटना भएकोमा वा अन्य बीमा प्राणालीबाट सुविधा पाउने अवस्थामा भनें कोषको स्कीममा सुविधा नपाइने श्रम सचिव महेश दहालले बताए ।
योगदानकर्ताको मृत्यु भएको अवस्थामा आश्रित परिवारलाई प्राप्त हुने सुविधा अन्तर्गत नीजको पति वा पत्नीलाई योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले मासिक रुपमा जिवित रहेसम्म निवृत्तिभरण(पेन्सन) र नीजको १८ बर्ष उमेर पुरा नभएका सन्ततिलाई १८ बर्षको उमेरसम्म ४० प्रतिशत सन्तति शैक्षिक वृत्ति पाउने व्यवस्था छ । यसैगरी योगदानकर्ताको एकाघरको पति वा पत्नि वा छोराछोरी कोहि पनि नभएको अवस्थामा नीजको आश्रित बाबुआमालाई मासिक रुपमा ६० प्रतिशत रकम जिवित रहेसम्म प्रदान गर्ने व्यवस्था स्कीममा मिलाइएको छ ।
योगदानकर्ताको अवकाशपछि प्राप्त हुने गरी बृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत योगदानकर्ता जीवित रहेसम्म निवृत्तिभरणको व्यवस्था पनि मिलाइएको छ ।
यो स्कीममा सहभागि हुन योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागि हुनुपर्दछ । सामाजिक सुरक्षा योजनामा रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गरिदिनु पर्नेछ । यसरी रकम जम्मा गर्नुभन्दा पहिला रोजगारदाता र श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचिकृत हुनुपर्ने सचिव दहालले बताए । सचिव दहालले यो योजनाले कर्मचारी तथा श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुने र रोजगारदाताको दायित्व व्यवस्थापनमा पनि सहज हुने बताए । यसले नेपालमा असल श्रम सम्वन्ध कायम हुने र लगानीमैत्री वातावरण निर्माण हुने अपेक्षा गरिएको छ ।
सुरुमा यो कार्यक्रम औपचारिक क्षेत्रमा मात्र लागु भएको छ । नेपालमा लाखौं श्रमिक अनौपचारिक क्षेत्रमा कार्यरत रहेको हुँदा उनीहरुका लागि भनें तत्काल यसले कुनै सुविधा दिनेछैन । अनौपचारिक क्षेत्रका श्रमिकको पञ्जिकरणको व्यवस्था नभइसकेका कारण हाल सो क्षेत्रलाई समेट्न नसकिएको र छिट्टै त्यो काम हुने श्रम मन्त्रालयले जानकारी दिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३