काठमाडौं – प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासले यसै हप्ताभित्र सुनुवाई सक्ने भएको छ । आज जवाफी बहस चलिरहेको छ । जवाफी बहसमा निवेदकका पक्षबाट पाँचजनाले बोल्ने तय भएबमोजिम बोल्ने क्रम जारी छ ।
निवेदकको जवाफपछि संवैधानिक इजलासले एमिकस क्युरीको राय लिने छ । त्यसपछि इजलासले मुद्दाको अन्तिम किनारा लगाउने छ । यो हप्ता बहस सकिएपछि यसै हप्ता या अर्को हप्ताभित्र सर्वोच्चले फैसला दिने बुझिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित पाँचजना न्यायाधीशको संवैधानिक इजलासले ७ फागुन या त्यसको केही दिनमै संसद विघटनविरुद्धको रिटलाई अन्तिम किनारा लगाउने विश्वस्त स्रोतले जानकारी दिएको छ । अदालतले बहस सक्न लागेकाले सर्वोच्चको फैसलामाथि सर्वत्र चासो बढेको छ ।
५ पौषमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकबाट प्रतिनिधि सभा विघटनको सिफारिश राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गरेका थिए । भण्डारीले सरकारको प्रस्तावलाई नै सदर गरेर संसद विघटन गरी ताजा जनादेशका लागि वैशाखमा दुई चरणमा गर्ने गरी चुनाव घोषणालाई प्रमाणिकरण गरेकी थिइन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध १३ जनाले रिट निवेदन दिएका थिए । रिटमाथि सुनुवाई हुँदै संवैधानिक इजलासमा सुनुवाईको आदेश जारी भएको थियो । त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृ्त्वमा न्यायाधीशहरु तेजबहादुर केसी, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठ रहेको इजलास गठन भएको थियो । कार्की विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा महान्यायाधिवक्ता भइसकेकाले प्रश्न उठेपछि उनले इजलासबाट हट्ने घोषणा गरेका थिए ।
कार्की इजलासबाट हटेपछि सपना मल्ल प्रधानको संवैधानिक इजलासमा प्रवेश भएको थियो । त्यसपछि निरन्तर सुनुवाई चलिरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३