काठमाडौं – नेपाली काँग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर देखिएको छ । बिहीबार राति मस्तिष्कघात भएका जोशीको यतिबेला नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।
जोशीलाई बिहीबार राति शरीरको देब्रेपट्टिको भागमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार बिहान थप उपचारका लागि उनलाई वीरबाट नर्भिक सारिएको थियो । न्युरोसर्जन डा.राजीव झासहितको चिकित्सकको टोली जोशीको उपचारमा संलग्न छ ।
जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै डा.झाले भने, ‘उहाँको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेको छ । त्यसलाई हामी शल्यक्रिया गरेर पनि निकाल्न सक्दैनौं । अहिले सानो शल्यक्रिया गरेर मस्तिष्कमा पर्ने चाप घटाउन ड्रेन गर्न पाइप राखिएको छ। यस्ता खालका बिरामीलाई बचाउन निकै कठिन हुन्छ । हामी प्रयासरत छौं ।’
डा. झाका अनुसार जोशीको मस्तिष्कको जुन भागमा रगत जमेको छ, त्यस्तो भागमा रगत जमेपछि निको हुन लामो समय लाग्न सक्छ । ‘उहाँलाई बचाउन सकिए पनि शरीरले कसरी काम गर्छ यकिनसाथ भन्न सकिन्न,’ डा.झाले भने ।
झाले जोशीको अवस्था गम्भीर भएपनि आफूहरु आशावादी रहेको बताए । उनले भने, ‘अवस्था स्थिर हो, भन्न सकिँदैन । भेन्टिलेटरमा राखिएको छ । हामी अझै आशावादी छौँ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३