काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) को उपाध्यक्ष बनाउने तयारी गरिएको छ। अध्यक्ष केपी शर्मा ओली पक्षले गृहमन्त्री बादललाई उपाध्यक्ष बनाउने तयारी गरेको हो।
फागुन २३ गते सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पूर्वमाओवादी नेता बादल ओली नेतृत्वको एमालेतिर लागेका छन्। उनीसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी, दावा तामाङलगायतका माओवादी नेताहरु एमालेमै रहने भएपछि ओली पक्ष उनीहरूको व्यवस्थापनमा लागेको हो।
एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएपछि उक्त पद रिक्त छ। सोही पदमा बादललाई लैजानेगरी ओली पक्षले तयारी गरिरहेको छ। एमालेमा वामदेव गौतम, भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य पनि उपाध्यक्ष छन्।
बादलसहितका नेताहरूको व्यवस्थापनबारे अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ। छलफलमा प्रधानमन्त्री ओलीसहित एमालेका उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ पनि सहभागी छन्।
प्रधानमन्त्री ओलीसँग बादलसहितका नेताहरूले हिजो पनि छलफल गरेका थिए। त्यसपछि बादल, रायमाझी, थापा, भट्टले गृह मन्त्रालयमा छुट्टै छलफल गरेका थिए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३