काठमाडौं – जनता समाजवादी पार्टी, नेपालका माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओली तयार भएका छन् । फागुन २३ गतेपछि जसपाका नेताहरुसँग प्रधानमन्त्री ओलीले लगातार छलफल गरिरहेका छन् । यो बीचमा जसपाले अघि सारेका माग पूरा गराउनको लागि एमाले र जसपा नेपाल नेताहरु सम्मलित कार्यदल समेत गठन गरेको छ । कार्यदलका सदस्यहरुपनि नियमित छलफलमा छन् ।
आजमात्रै, प्रधानमन्त्री ओलीसँग अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेता राजेन्द्र महतोसहित कार्यदलका सदस्यहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लाले भेटेका थिए । आजको भेटवार्ता सकारात्मक भएको नेता कर्णले जानकारी दिए । उनका अनुसार जसपाका माग पूरा गराउनको लागि प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् ।
सरकारमा जानेगरि नै जसपा र प्रधानमन्त्रीबीच छलफल भएको उच्च स्रोतले जनाएको छ । ठाकुर र महतोको पक्षमा २६ जना सांसद उभिएको जनाईएको छ । पछिल्लो समय सरकारमा जाने कि नजाने भन्नेबारे जसपाभित्र विवाद छ । अर्का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई प्रतिगमनकारी भन्दै सत्ता सहकार्य गर्न नहुने सार्वजनिक रुपमै अभिव्यक्ति दिएका छन् । यादवसँगै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि ओलीलाई विदा गर्नुपर्ने भन्दै उनीसँग सहकार्य गर्न नहुने अडान लिएका छन् ।
तर, ठाकुरको पक्षमा दुई तिहाईभन्दा बढि सांसद उभिने भएपछि प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्यको लागि ठाकुर र महतो अघि बढे उनीहरु मौन बस्ने पनि बुझिएको छ । स्रोतकाअनुसार प्रधानमन्त्रीसँग ठाकुर र महतोले दशवटा मन्त्रालय माग गरेका छन् । तर, प्रधानमन्त्रीले ८ वटा मन्त्रालय दिने सहमति जनाएका छन् । आगामी एक साताभित्रै सरकारमा जानेगरि प्रधानमन्त्री ओलीसँग ठाकुर र महतोको भेटवार्ता चलिरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३