काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्र वायु प्रदूषण बढेको भन्दै सकभर बाहिर ननिस्कन अपिल गरेको छ । वायु प्रदूषणले श्वासप्रश्वासमा कठिनाइलगायत स्वास्थ्य समस्या देखिन सक्ने भन्दै घर बाहिर खुला स्थानमा नबस्न अपिल गरेको हो । मर्निङ वाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने कार्य रोक्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले फोहोरको उचित व्यवस्थापन गर्ने र फोहोर जलाउने काम नगर्न आग्रह गरे । धुलो, धुवाँ उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्य केही दिनलाई स्थगन गर्न सम्बद्ध निकायलाई स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । केही दिनपछि त्यस किसिमका पेसा, व्यवसाय निर्माणका कार्य सुरु गर्दा धुवाँ नउड्ने वा कम हुने व्यवस्था गर्न अपिल गरेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले वायु प्रदूषण बढेको भन्दै यो बेला अत्यावश्यक नभई सवारी साधन नचलाउन आग्रह गरे । स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै बालबालिका, दीर्घ रोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल राख्न र घरबाहिर खुला स्थानमा नबस्न पनि अपिल गरेको छ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ का लागि तोकिएको जनस्वास्थ्यको मापदण्ड पालना गर्न–गराउनसमेत अनुरोध गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३