काठमाडौँ – जनता समाजवादी पार्टीका नेता तथा सांसद राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्री के.पी. शर्मा ओलीले राष्ट्रपतीजस्तो गरिमामय संस्थालाई समेत शिखण्डी बनाउने दुष्प्रयास गरेको बताएका छन् । उक्त कुरा उनले आफ्नो फेसबूक स्टाटसमा लेखेका हुन् ।
नेता श्रेष्ठले प्रधानमन्त्रीले आफ्नो पार्टीमा भएको अन्तर्विरोधको रीस संसदमा पोख्ने ‘बालहठ’ प्रदर्शन गरेको बताउँदै पुनः संसद भङ्ग गर्ने षडयन्त्र गरिरहेको बताएका छन् । उनले गोरु नाङ्गै हिंडेजस्तै सरकार निर्लज्ज रूपमा फेरी पनि संसद विघटन गर्ने बहाना खोजिरहेको बताउँदै संसदलाई आफ्नो ‘स्वार्थको बन्दी’ बनाएकोमा कटाक्ष गरे ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सदस्यसमेत रहेका श्रेष्ठले प्रतिनिधिसभा पुनर्स्थापनापछि प्रधानमन्त्री एकपटक पनि प्रतिनिधिसभाको बैठकमा नआएको तथा विधेयक अधिवेशनलाई सफल बनाउन आवश्यक राष्ट्रियसभाको बैठक नडाकेकोमा आपत्ती प्रकट गरेका छन् । उनले निम्न स्टाटसका साथ सरकारले प्रतिनिधिसभामा पेस भइसकेका विधेयकहरू छलफलमा ल्याउन माग गरेका छन् ।
“वर्तमान के.पि.ओली नेतृत्वको सरकारले संसदमा कुनै कार्यसूची (ब्युजिनेस) नै नभएको भन्दै व्यापक भ्रम छरिरहेको छ । कतिपय छापाहरूमा पनि यस्ता समाचारहरू आउने गरेका छन् । खासगरी प्रतिनिधिसभाले गर्नुपर्ने कुनै काम नै नभएकाले बैठक बस्दै स्थगित हुने गरेको कुरा बाहिर प्रचार गर्ने गरिएको छ । तर यो प्रचार शत प्रतिशत झुठो हो । बास्तवमा प्रतिनिधिसभालाई कार्यसूची दिने काम सरकारको हो । प्रतिनिधिसभाका विभिन्न समितिहरूले विधेयकहरूका सम्बन्धमा आवश्यक छलफल गरी हाउसमा आफ्नो प्रतिवेदनहरू प्रस्तुत गरेका छन् । यसलाई छलफल गरी पारित गर्न राष्ट्रियसभाको पनि बैठक डाक्नु पर्दछ । तर सरकारले राष्ट्रियसभाको बैठक डाकेको छैन । त्यसले गर्दा समितिहरूले प्रतिनिधिसभाको पूर्ण बैठकमा छलफल गरी पारित गर्न पठाएको विधेयकहरू अलपत्र परेका छन् । आफूले प्रतिनिधिसभाको विघटनका लागि चालेको कदम ठीक छ भन्ने प्रमाणित गर्न प्रधानमन्त्रीज्यूले विधेयकहरू हाउसमा प्रस्तुत गर्ने वातावरण सुजना नगरेको मात्र होइन, प्रतिनिधिसभा पुनर्स्थापनापछि एकपटक पनि प्रतिनिधिसभाको सभाकक्षमा समेत प्रवेश गरेको छैन । प्रधानमन्त्रीले आफ्नो पार्टीमा भएको अन्तर्विरोधको रीस संसदमा पोख्ने ‘बालहठ’ प्रदर्शन गरेका छन्, जुन प्रधानमन्त्री जस्तो गरीमामय र जिम्मेवार पदमा बसेका व्यक्तिका लागि सुहाउने कुरा होइन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३